चितवनमा रविले सुरु गरे ‘ब्लू बस’, महिलाले नि:शुल्क चढ्न पाउने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति समेत रहेका चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेले हिलाका लागि निःशुल्क बस सेवाको सुरुवात गरेका छन् ।

वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा निर्वाचित भएको १ सयौं दिनमा सांसद लामिछानेले निःशुल्क बस सेवा शुभारम्भ गरेका हुन् । चितवन २ मा गुड्ने उक्त बसको नाम ‘ब्लू बस’ राखिएको छ । उनको निर्वाचन क्षेत्रका महिलाहरुले उक्त बस निःशुल्क चढ्न पाउनेछन् ।

बसका चालक र सहचालक पनि महिला राख्ने तयारी रहेको लामिछानेले बताए ।

ब्लू बसले कालिनका नगरपालिका र भरपुर महानगरपालिकामा सेवा दिनेछ । हरेक बिहान शक्तिखोरबाट छुट्ने बस कालिका नगरपालिकाका साथै भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने छ । उक्त बस साँझ फेरि शक्तिखोर फर्कने रुट रहेको छ।

उक्त बस चढ्नका लागि यातायात कार्डको व्यवस्था गरिएको छ । पहिलो चरणमा पाँच सय जना महिलाहरुको यातायात कार्ड बनाइएको छ । बसमा रहेको मेसिनमा कार्ड देखाएपछि सेवा निःशुल्क हुने व्यवस्था छ । भविष्यमा अन्य बस पनि थपिने रास्वपा चितवनले जनाएको छ ।

बसमा महिलाहरुका लागि सेनेटरी प्याड पनि राखिने छ भने एउटा सूचना बक्स पनि राखिने सभापति लामिछानेले बताए । ‘रवि दाइलाई चिठी’ लेखिएको बक्स गुनासाहरु राख्न पाइनेछ । यस्ता गुनासोलाई सम्बोधन गरिने उनले बताए ।

यो बस रास्वपाले किनेको नभइ मासिक भाडामा लिएको हो ।


क्लिकमान्डु