‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’
काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।
शहरी विकास मन्त्रालयमा मंगलबार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताए ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताए ।
अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड नभई डम्पीङ साइडमा परिणत भएको बताए । उनले स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने धारणा राखे। उनले काठमाडौं उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताए । उपत्यकाको फोहोर स्थायी रुपमा समाधान गर्ने उपायको खोजि हुनुपर्ने बताए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने उनले बताए ।
फोहोर व्यवस्थापन गर्न बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिए ।
धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए । उनले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताए । आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राखे । उनले वर्षौंदेखि फोहोर व्यवस्थापनबारे छलफल भएपनि समाधान निकाल्न सरकार जिम्मेवार नभएको बताए ।
शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।