असोज १ देखि द्रुत बससेवा सञ्चालन गरिन्छ: मन्त्री ज्वाला



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असोज १ देखि द्रुत बससेवा सञ्चालन गर्न लागेको बताएका छन् ।

एकीकृत सरकारी कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनको गृहकार्य भइरहेको जानकारी दिए ।

उक्त सेवाका लागि छुट्टै सडक लेन निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ छ । मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन मन्त्रिपरिषदमा छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने बताए ।


क्लिकमान्डु