सुन प्रकरणमा मेरो संलग्नता छैन, दोषी ठहरिए सजाय भोग्न तयार छु: वर्षमान




काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् ।

सोमबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए ।

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी बिरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए ।

अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरीत्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने उनले बताए । राज्यका निकायहरुले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने उनले बताए ।

‘प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करी बिरुद्ध चलाएको अभियान नेपाली राजनितिलाई शुद्ध बनाउन चालिएको अभियान हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन । गत आठ वर्ष पहिले पारिवारीक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ’, उनले भने, ‘आगामी दिनमा हामी कस्ता मान्छेसँग छानबिन गर्ने कस्ता मान्छेसँग नगर्ने भनेर सोंच्नुपर्छ । मेरोबारेमा पनि ठोस रुपले त उठेको छैन, कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु । र, म दोषी ठहरीए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु । राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्छ । न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु ।’


क्लिकमान्डु