यी हुन् गत वर्ष बढी कारोबार गर्ने मुख्य १० मालपोत कार्यालय, कसले कति गरे ?



काठमाडौं । अर्थतन्त्रमा देखिएको निराशाकाबीच पनि गत आर्थिक वर्ष २०७९÷८० मा देशभरका मालपोत कार्यालयबाट ४ लाख ६३ हजार वटा घरजग्गा कारोबार भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३१ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८÷७९ मा देशभरका मालपोत कार्यालयबाट ७ लाख ४५ हजार १ सय १९ वटा किनबेच भएका थिए ।

भूमि व्यवस्तापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष आर्थिक मन्दीसँगै सरकारले घरजग्गा कारोबारमा लिएको नीतिले कारोबार ह्वात्तै घटेको थियो । कारोबार घट्दा राजस्व संकलनमा पनि उच्च प्रभाव परेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा आर्थिक मन्दी र घरजग्गा कारोबारमा कडाइ गर्ने नीतिले मुख्य शहरहरुभन्दा अन्य क्षेत्रमा घरजग्गा कारोबार भएको देखिन्छ ।

गत वर्ष उच्च कारोबार गरेको १० वटा मालपोत कार्यालयहरुमध्ये दुईवटा मात्रै उपत्यकाका मालपोत कार्यालय समावेश भएका छन् । गर्दा १० वटा मालपोत कार्यालयबाट १ लाख ३९ हजार १०६ वटा घरजग्गा किनबेच भएको छ ।

अघिल्ला वर्षहरुमा १० वटा धेरै कारोबार गर्ने मुख्य मापलोतमध्ये उपत्यकाका ४ वटासम्म मालपोत कार्यालय समावेश हुँदै आएको थियो । तर, आर्थिक मन्दीले पर्याप्तमा मात्रामा कर्जा प्रवाह नभएको र भू–उपयोग नियमावलीमार्फत् कित्ताकाटमा कडाइ गर्दा उच्च प्रभाव परेको छ ।

देशभरका १२६ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी इनरुवाबाट भएको छ । मालपोत कार्यालय इनरुवाबाट १९ हजार ९९४ वटा घरजग्गा किनबेच भएका छन् । इनरुवा मालपोतबाट गत वर्षको साउनमा १६ सय ४४ वटा, भदौमा १७ सय ९५ वटा, असोजमा ११ सय ४९ वटा, कात्तिकमा ११ सय ७६ वटा, मंसिरमा १२ सय ३३ वटा, पुसमा १५ सय ६३ वटा, माघमा १४ सय ९९ वटा, फागुनमा १५ सय ४७ वटा, चैतमा १६ सय ५६ वटा, वैशाखमा १६ सय ५६ वटा, जेठमा २४ सय ६० वटा र असारमा २५४९ वटा घरजग्गा किनबेच भएका छन् ।

त्यसैगरी, बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १७ हजार ५६४ वटा, मोरङको बेलाबारीबाट १६ हजार ४४९ वटा, जनकपुरधाम धनुषाबाट १६ हजार ११६ वटा, भद्रपुर झापाबाट १२ हजार ८६७ वटा, राजविराज सप्तरीबाट १२ हजार ५१८ वटा, तौलिहवा कपिलवस्तुबाट ११ हजार ३३८ वटा, लगनखेल मालपोत कार्यालयबाट १० हजार ७९४ वटा, विराटनगर मोरङबाट १० हजार ७५३ वटा र भक्तपुर मालपोत कार्यालयबाट १० हजार ७१३ वटा घरजग्गा किनबेच भएका छन् ।


क्लिकमान्डु