मिड सोलु हाइड्रोपावरको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?
काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ४८ लाख ४० हजार रुपैयाँको ७ लाख ४८ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको छ ।
जसमा ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३, ४, ५, ६, ७ र ११ का बासिन्दाका लागि रहेको छ । बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा अन्य स्थानीयका लागि रहेको छ ।
यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीका लागि ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावितले भने उक्त अवधिमा सेयर नबिके भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले एनआइसी एसिया, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।