२६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर बनाउँदै एमभी दुगड ग्रुप, साढे १९ अर्ब ऋणको रेटिङ



काठमाडौं । एमभी दुगड ग्रुपले २६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर निर्माण गर्ने भएको छ ।

ग्रुपले नासा हाइड्रोपावरअन्तर्गत २६ अर्ब २० करोड ५० लाख रुपैयाँ लगानीमा १६० मेगावाट बिजुली उत्पादन गर्ने गरी लाप्चे खोला हाइड्रोपावर निर्माण गर्ने भएको हो ।

सन् २००७ मा दर्ता भएको कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको लाप्चे खोलाबाट बिजुली उत्पादन गर्ने भएको छ । उक्त हाइड्रोपावर निर्माणका लागि कम्पनीले १९ अर्ब ३८ करोड २५ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १९ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ अर्ब ३८ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ११ करोड ७५ लाख रुपैयाँ रेटिङ गराएको छ ।

कम्पनीले बिजुली उत्पादनका लागि आवश्यक रकमको लगानीमा ७४ः२६ को अनुपात राखेको छ । कम्पनीले ७४ प्रतिशत ऋण लिने भएको छ भने २६ प्रतिशत कम्पनीले गर्नेछ ।

कम्पनीले उक्त आयोजनाबाट एक किलोवाट बिजुली उत्पादन गर्नका लागि १६ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

हालसम्ममा कम्पनीले ९.६४ प्रतिशत आर्थिक प्रगति उल्लेख छ । कम्पनीअनुसार कोभिड–१९ ले गर्दा उच्च असर पारेको जनाएको छ । काभिडले गर्दा निर्माणक कार्यमा ढिला हुँदा समयमै सम्पन्न नहुने भएको कम्पनीको भनाइ छ ।

मोतिलाल दुगड अध्यक्ष रहेको कम्पनीमा निर्देशकमा विवेक दुगड हुन् । दुगड ग्रुपले लिखु १ हाइड्रोपावर आयोजनाबाट ७७ मेगावाट र लिखु २ हाइड्रोपावर आयोजना ५५ मेगावाट बिजुली उत्पादन गर्ने गरी निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै, लिखु ए हाइड्रोपावर आयोजना २९.०४ मेगावाट भने सञ्चालनको अवस्थामा छ ।

सन् २०१७ मा नेपाल विद्युत प्राधिकरणबाट पीपीए प्राप्त गरेको कम्पनीले आयोजनाबाट ९९.४ मेगावाट विद्युत टेक वा तिर्ने आधारमा र ६०.६ मेगावाट अतिरिक्त क्षमता टेक वा भुक्तानीको आधारमा बिक्री गर्ने सम्झौता भएको थियो ।


क्लिकमान्डु