नेपाल एयरलाइन्सले ऋण नतिरेपछि रिसायो सञ्चय कोष, प्रशासक भन्छन्- अब दिन सक्दैनौं



काठमाडौं । कर्मचारी सञ्चय कोष नेपाल एयरलाइन्ससँग रिसाएको छ । हवाइजहाज किन्न दिएको ऋण समयमै नतिरेपछि कोष रिसाएको हो ।

नेपाल एयरलाइन्सलाई ४ वटा जहाज किन्न दिएको २२ अर्ब ऋण बढेर २९ अर्ब रुपैयाँ पुगेको छ । कोरोनाका कारण एयरलाइन्सले ऋण तिर्न सकेको थिएन । तर पछिल्ला दिनमा निगमले ३ पटक गरी झन्डै ३ अर्ब रुपैयाँ ऋण तिरेको छ ।

‘निगमको दायित्व लगातार बढीरहेको छ, हामीले छलफल गर्दा तिर्न सक्दैनौं भन्नुहुन्छ,’ सञ्चयकोषका प्रशासक जीतेन्द्र धितालले भने, ‘तर, उहाँहरुले पछिल्ला दिनमा हामीले ऋण तिर्‍यौँ भनेर प्रसार गरिरहेको देख्दा मलाई अचम्म लागेको छ ।’

एकातिर पूरा ऋण नतिरि ऋण तिरेको भन्दै प्रचार गरिरहेको निगम अर्कातिर नयाँ जहाज किन्न लागेको देखेर आफू अचम्मित भएको उनले बताए । एयरलाइन्सले पैसा नतिरेपछि आफूहरुले उक्त कर्जाको संभावित जोखिम व्यवस्थाका लागि मोटो रकम छुट्याएका कारण सञ्चयकर्ताले प्राप्त गर्ने लाभ प्रभावित भएको उनको भनाइ छ ।

‘निगमको हालको अवस्थामा नैतिक हिसाबले ऋण माग्न आउन सक्ला भन्ने मलाई लाग्दैन । नेपाल सरकारले पनि ऋण देऊ भन्दैन होला,’ धितालले भने, ‘हालको सञ्चालन अवस्थामा निगमलाई हामी ऋण दिन सक्दैनौं । यसमा म कुनै पनि सम्भावना देख्दिन ।’

सुरुमा एयरलाइन्सले राम्रै गरेको भए पनि पछिल्लो समय खासै राम्रो गर्न नसकेको उनको भनाइ छ ।

‘सरकारको आवश्यकता हेरेर, हामीले दोस्रो पटक वाइडबडी जहाज खरिदका लागि पुनःऋण दिएको हो,’ उनले भने, ‘निगममा पारदर्शिता छैन । महालेखा परिक्षकले हामीलाई पटक पटक प्रश्न उठाइरहेको छ । त्यसकारण अब थप ऋण दिन सकिँदैन ।’


क्लिकमान्डु