महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रंजिता झासहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रंजिता झा र निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ५ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।
पिपरा गाउँपालिका वडा नं. १ खैरबामा बाटो ढलानको कार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको अभियोग उनीहरुमाथि छ ।
पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सब-इन्जिनियर श्यामकिशोर मण्डलले आर्थिक वर्ष २०७४/७५ मा पिपरा गाउँपालिका वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा झुटा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी १ लाख ४८ हजार ९१० रुपैयाँ भुक्तानी दिई सरकारी रकममा हानि पुर्याएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको कसुरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुने र सोही दफा बमोजिम बिगो असुल हुनेसमेत मागदाबी गरिएको छ ।
त्यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहले एकरहिया कृषि सडक ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी १ लाख ४८ हजार ९१० रुपैयाँ बढी मूल्यांकन गराई भुक्तानी लिएको पाइएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुने र सोही दफाबमोजिम बिगो जफत हुनेसमेत मागदाबी गरिएको छ ।