धादिङको ताल्तीमा सानिमा बैंकको एटीएम
काठमाडौं । सानिमा बैंकले धादिङको रोराङ गाउँपालिकामा एटीएम स्थापना गरेको छ । धादिङका स्थानीयबासीमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले रोराङ गाउँपालिकाको ताल्ती अवस्थित होक्जिन सिमेन्ट नारायणी प्रालि उद्योगको परिसरमा एटीएम बुथ स्थापना गरेको बैंकले जनाएको छ ।
एटीएम बुथको बुधबार रोराङ गाउँपालिका वडा नं. २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जनरल म्यानेजर छियाङ चाङ हङ, बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ र बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष भुजेल तथा जनरल म्यानेजर चाङ हङले गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेको भन्दै बैंकलाई धन्यवाद दिए ।
त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रका जनताको वित्तीय आवश्यकतालाई महसुस गरी स्थापना गरिएको एटीएमको भरपुर उपयोग गरी लाभ लिने विश्वास व्यक्त गरिन् । सानिमा बैंकको सातै प्रदेशमा १३२ कार्यालय र १२३ वटा एटीएम सञ्जाल छन् ।