आईएमएफ मिसनको निष्कर्ष: मौद्रिक नीति तथ्यांकमा आधारित, आगामी वर्ष आर्थिक वृद्धि बढ्ने



काठमाडौं । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति तथ्यांकमा आधारित  भएको जनाएको छ ।

नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ)का लागि गरेका प्रतिबद्धताअनुसार काम भए/नभएको अनुगमनमा आएको आईएमएफको टोलीले तथ्यांकमा आधारित मौद्रिक नीतिले नेपालको अर्थतन्त्र सुधार हुँदै जाने बताएको छ ।

आईएमएफको एसिया प्रशान्त समूह उपप्रमुख टिडियान किन्डाको नेतृत्वमा साउन ४ देखि १० सम्म नेपाल मिसनमा आएको टोलीले वित्तीय स्थायित्व कायम राख्नका लागि बैंकहरुको सम्पत्तिको गुणस्तरमा ध्यान दिन र अनुगमन बढाउन जरुरी रहेको जनाएको छ ।

साथै वित्तीय स्थायित्व कायम गर्न आर्थिक वर्ष २०८०/८१ को बजेटको विवेकसंगत ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण रहेको मिसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बजेटमा परिकल्पना गरिएका उपायको प्रभावकारी कार्यान्वयनले पुँजीगत खर्चमा सुधार हुने पनि मिसनको विश्वास छ । आफ्नो प्रावधिक सहयोगमा कार्यान्वयन भइरहेका कार्यक्रमअन्तर्गतका प्रतिबद्धता पूरा गर्न सरकारी अधिकारीहरुले गरेका प्रयासको आईएमएफले सराहना गरेको छ ।

नेपालमा रहँदा आईएमएफको टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलगायत उच्च सरकारी अधिकारी र राष्ट्र बैंकका अधिकारीसँग छलफल गरेको थियो ।


क्लिकमान्डु