लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले लघुवित्त पीडितसँग वार्ता गर्त समिति बनाएको छ । आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ताका लागि अर्थ मन्त्रालयले समिति गठन गरेको हो ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।
अर्थमन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिमा गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहने अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।
समितिले लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपालसँग वार्ता गरी समाधान सिफारिस गर्ने कार्यादेश पाएको छ ।
साउन २८ देखि समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित कुलसुम खातुन, नुजा राई, नन्दकला कामीलगायत आमरण अनसनमा बसेपछि देशभरका प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि काठमाडौं आएर दिनहुँ प्रदर्शन, धर्ना तथा विरोध गरिरहेका छन् ।
उनीहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा समेत माग गर्दै बुधबार नाराबाजी गरेका थिए । प्रदर्शन चर्किने देखिएपछि सरकारले समिति गठन गरी समस्या समाधानको पहल गरेको हो ।