शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भष्टाचार मुद्दा



काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारविरूद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट र इन्जिनियर सन्तोष पाण्डेयसहित तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी, सब-इन्जिनियर दिपकसिंह बिष्ट, पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएर कटिङ गर्दा अस्वाभाविक रुपमा बढी मूल्यांकन नापी किताबमा चढाएर हस्ताक्षर गरेको अख्तियारको आरोप छ । उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम २६ लाख २ हजार ५५६ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

यस्तै नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयले त्यसमा सहमति जनाई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेको परिमाणको झुटा बिल भरपाई बनाएर बढी लिएको अख्तियारले जनाएको छ । उनीविरूद्ध अख्तियारले ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम ११ लाख ३० हजार २७२ रुपैयाँ विगो दाबी गरेको छ ।

यस्तै राजेन्द्र सिंहविरूद्ध १४ लाख ७१ हजार २८३ र दीपकसिंह विष्टविरूद्ध २६ लाख २ हजार ५५६ रुपैयाँ अख्तियारले विगो माग दाबी गरिएको छ । पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी र सचिव धनञ्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध अख्तियारले २६ लाख २ हजार ५५६ रुपैयाँ विगो माग दाबी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


क्लिकमान्डु