काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्‍यो पार्किङ शुल्क, कस्ता गाडीको कति ?



काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र विभिन्न किसिमका सवारी साधन पार्किङ गर्न लाग्ने शुल्क सार्वजनिक गरिएको छ । महानगरपालिकाबाट जारी भएको आर्थिक ऐन २०८० मा भएको व्यवस्थाअनुसार महानगरभित्र रहेका क्षेत्रमा पार्किङ क्षेत्रमा राखिने सवारी साधनको शुल्क तोकिएको हो ।

महानगरपालिकाका अनुसार क्षेत्रगत आधारमा दुई किसिमका पार्किङ शुल्क तोकिएका छन् । पहिलो क्षेत्र (क्षेत्र नम्बर १) सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधिको प्रयोगको माध्यमबाट समयका आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा पार्किङ शुल्क लिन सकिनेछ ।

क्षेत्र नम्बर १ अन्तर्गतका स्थानमा दुई पांग्रे सवारी पहिलो आधा घण्टा पार्क गर्दा १५ रुपैयाँ, प्रतिघण्टा २५ रुपैयाँ, चार पांग्रे सवारी पहिलो आधा घण्टा ५० रुपैयाँ र चार पांग्रे सवारी प्रतिघण्टा ८० रुपैयाँ लाग्ने महानगरले उल्लेख गरेको छ ।

त्यस्तै, क्षेत्र नम्बर १ मा उल्लेख भएका स्थानबाहेक महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानमा सवारीसाधन पार्किङ गर्दा दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र चार पांग्रेभन्दा बढीका लागि १ सय रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ ।

निजी क्षेत्रबाट निजी घरजग्गामा महानगरपालिकाबाट अनुमति लिएर व्यवसाय दर्ता गरी स:शुल्क पार्किङ व्यवसाय सञ्चालन पनि गर्न सकिने महानगरले जनाएको छ । यस्तो पार्किङको हकमा दुई पांग्रे सवारीलाई पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र पहिलो एक घण्टासम्म २५ रुपैयाँ शुल्क लिन सकिनेछ । त्यस्तै, एक घण्टाभन्दा बढीको हकमा भने हरेक १५ मिनेटका लागि थप ५ रुपैयाँ लाग्नेछ ।

त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित पार्किङमा चार पांग्रेको हकमा आधा घण्टासम्मका लागि ४० रुपैयाँ र पहिलो एक घण्टासम्मका लागि ७५ रुपैयाँ लाग्नेछ । त्यसपछि भने हरेक १५ मिनेटका लागि थप १५ रुपैयाँ लाग्ने महानगरले जनाएको छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने पार्किङ व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्मका लागि शतप्रतिशत छुट दिइने महानगरले जनाएको छ ।

त्यस्तै, सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिकाले तोक्न सक्ने तथा अपांगता भएका व्यक्तिका लागि कुनै पनि शुल्क नलाग्ने महानगरले जनाएको छ ।

सबै किसिमका पार्किङ हुने क्षेत्रमा महानगरले स्वीकृति दिएको पार्किङ संकेत राख्नुपर्ने र शुल्क पनि निर्धारण भएअनुसार अनिवार्य रुपमा डिजिटल प्रणालीबाट बिलिङ हुनुपर्ने महानगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु