सुनसरीमा जग्गाको मूल्य प्रतिकठ्ठा साढे ७ लाख रुपैयाँसम्म वृद्धि



काठमाडौं । सुनसरी जिल्लाको दुईवटा मालपोत कार्यालयले आफ्नो क्षेत्रधिकारभित्र पर्ने जग्गाको मूल्य बढाएका छन् । मालपोत कार्यालयहरुले आर्थिक वर्ष २०८०/८१ को जग्गाको न्यूनतम मूल्याङ्कन तोकेका हुन् ।

सुनसरी जिल्लामा दुईवटा मालपोत कार्यालय छन् । सुनसरीमा इनरुवा र धरान मालपोत कार्यालय छन् । दुईवटा मालपोत कार्यालयमध्ये इनरुवा मालपोत कार्यालयले सबैभन्दा बढी कारोबार गर्दै आएको छ । त्यसमा पनि देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी कारोबार गर्दै आएको इनरुवा कार्यालयले जग्गाको न्यूनतम मूल्याङ्कन बढाएको हो ।

मालपोत कार्यालय इनरुवाले जग्गाको मूल्य अधिकतम प्रतिकठ्ठा ३० हजार रुपैयाँ बढाएको छ । मालपोत कार्यालयले इटहरी उप–महानगरपालिका भित्रको इटहरी वाड नम्बर १क महेन्द्र लोकमार्गसँग जोडिएको तथा कोशी लोकमार्गसँग जोडिएका जग्गाको मूल्य प्रतिकठ्ठा ३० हजार रुपैयाँ बढाएको छ । कार्यालयले उक्त क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा १ करोड ८० लाख रुपैयाँ तोकेको छ । यसअघि सो जग्गाको मूल्य १ करोड ५० लाख रुपैयाँ थियो ।

त्यस्तै, कार्यालयले वडा नम्बर १क को अन्य जग्गाको मूल्य प्रतिकठ्ठा ६० लाख रुपैयाँदेखि १ करोड १० लाख रुपैयाँ तोकेको छ । कार्यालयले इटहरी वाड नम्बर १(ख) क्षेत्रको जग्गाको मूल्य ६० लाख रुपैयाँदेखि १ करोड २० लाख रुपैयाँ, इटहरी वार्ड नं १(ग) क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा २० लाख रुपैयाँदेखि १ करोड ८० लाख रुपैयाँ, इटहरी वार्ड नं (क) र २(झ) क्षेत्रको ८ लाख रुपैयाँदेखि ६० लाख रुपैयाँ र इटहरी वार्ड नं २(ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (ञ) र (ट) क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा ६ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म न्यूनतम मूल्याङ्कन तोकेको छ ।

त्यस्तै, कार्यालयले इटहरी वार्ड नं ४ का क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा ७ लाख रुपैयाँदेखि १ करोड ३० लाख रुपैयाँसम्म, इटहरी वार्ड नं ५ का क्षेत्रका ८ लाख रुपैयाँदेखि १ करोड १० लाख रुपैयाँसम्म, वार्ड ६, ७, ८ र ९ क्षेत्रका जग्गाको मूल्य प्रतिकठ्ठा ४ लाख रुपैयाँदेखि १ करोड ३० लाख रुपैयाँसम्म तोकेको छ । त्यसबाहेक अन्य जग्गाको मूल्य ३ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म तोकेको तथ्याङ्कले देखाउँछ ।

कार्यालयले दुहवी नगरपालिका क्षेत्रभित्र रहेका जग्गाको प्रतिकठ्ठा १ लाख रुपैयाँदेखि ४० रुपैयाँसम्म, रामधुनी नगरपालिकाको १ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँ, इनरुवा नगरपालिका क्षेत्रको जग्गाको मूल्य २ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म, बराही क्षेत्र नगरापालिकाको क्षेत्रको १ लाख रुपैयाँदेखि २७ लाख रुपैयाँसम्म, बर्जु गाउँपालिकाको १ लाख रुपैयाँदेखि १४ लाख रुपैयाँसम्म, भोक्राहा रसिंह गाउँपालिका क्षेत्रको १ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म र गढी गाउँपालिका क्षेत्रको मूल्य प्रतिकठ्ठा १ लाखदेखि २६ लाख रुपैयाँसम्म रुपैयाँ तोकेको छ ।

धरान सुनसरी कार्यालयले साढे ७ लाख रुपैयाँसम्म बढायो

धरान सुनसरी मालपोत कार्यालयले प्रतिकठ्ठा साढे ७ लाख रुपैयाँसम्म मूल्य बढाएको छ । कार्यालयले यसअघि प्रतिकठ्ठा १ करोड ४५ लाख रुपैयाँमूल्य कायम भएको जग्गाको मूल्य बढाएर १ करोड ५२ लाख ५० हजार रुपैयाँ तोकेको छ । धरानको वडा नं ५, ६ का (क) वर्गका जग्गाहरुको मूल्य साढे १ करोड बढी मूल्य तोकेको हो ।

कार्यालयले अन्य जग्गाको मूल्य २१ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म तोकेको छ । कार्यालयले धरान वडा नं १ क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा १२ लाख ६० हजार रुपैयाँदेखि ४५ लाख १५ हजार रुपैयाँसम्म, धरान वडा नं ४ क्षेत्रको जग्गा १९ लाख ९५ हजार रुपैयाँदेखि ४९ लाख ३५ हजार रुपैयाँसम्म र धरान वडा नं ७ क्षेत्रको १७ लाखदेखि ६३ लाख ५० हजार रुपैयाँसम्म तोकेको छ ।

त्यस्तै, कार्यालयले वडा नं ८ क्षेत्रको प्रतिकठ्ठा १८ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख १० हजार रुपैयाँसम्म, वडा नं ९ क्षेत्रको ९ लाख रुपैयाँदेखि ५५ लाख ६५ हजार रुपैयाँसम्म र वडा नं ११ क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा १ लाख ५० हजार रुपैयाँदेखि ५८ लाख ८० हजार रुपैयाँसम्म तोकेको छ ।


क्लिकमान्डु