दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु



दाङ । दाङमा ५ वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार डुबेर मृत्यु हुनेमा १७४ पुरुष र ५४ महिला छन् ।

डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाबासी छन् । तथ्यांकअनुसार ५ वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२ र गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी, बबईका ९, दंगीशरणका ८, शान्तिनगर र राजपुरका ५-५, बंगलाचुलीका ३ तथा जिल्लाबाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार आव २०७९/८० मा ४५ जनाको विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आव २०७८/७९ मा ६३, आव २०७७/७८ मा ५५, आव २०७६/७७ मा ३७ र आव २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना छन् । प्रमुख जिल्ला अधिकारी वैद्यका अनुसार डुबेर ज्यान गुमाउनेमा १३ महिनाकी शिशुदेखि ८० वर्षका वृद्धसम्मको रहेको जानकारी दिए ।

घोराही-९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घरअगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बंगलाचुली गाउँपालिका वडा नं. ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर लड्दा मृत्यु भएको हो ।

पानीसँग खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा र कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

‘अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापर्वाहीका कारण भएको देखिएको छ,’ उनले भने , ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ ।’

साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेर ज्यान गुमाएका छन् । खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।


क्लिकमान्डु