बजेट खर्च गर्नमा कमजोर बालेनः पूर्वाधारमा २८, तलब र भत्तामा ७० प्रतिशत



काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा बिनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च गरेको छ।

महानगरपालिकामा पहिलो कार्यकाल बिताएका मेयर बालेन्द्र शाहले आव २०७९/०८० मा कुल बिनियोजित बजेट २२ अर्ब ८२ कराड ७५ लाख १८ हजार ६६० मध्ये ४० प्रतिशत अर्थात ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार रुपैयाँ मात्रै खर्च गरेका हुन् ।

मेयर शाहले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमलगायत ल्याएको भए पनि बजेटको खर्चमा भने उनी कमजोर देखिएका हुन् । महानगरको १३ अर्ब ६६ करोड ४१ लाख ४३ हजार ६५८ रुपैयाँ बजेट खर्च नै हुन नसकेको अवस्था बनेको छ ।

बालेनको कार्यकालमा महानगरमा विकास निर्माणको अपेक्षा आम रुपमा धेरै भए पनि महानगरको सबैभन्दा धेरै बजेट खर्च भएको क्षेत्र भने प्रशासनिक क्षेत्र रहेको छ । विकास निर्माण लगायतका क्षेत्रमा भने बिनियोजित बजेट खर्च गर्न बालेन चुकेका हुन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिक उपक्षेत्रमा महानगरले आव २०७९/०८० मा ३ अर्ब ४३ करोड ८१ लाख ४३ हजार ८८० रुपैयाँ बिनियोजन गरेको थियो । यसमध्ये ७०.५३ प्रतिशत अर्थात २ अर्ब ४९ करोड ५३ लाख ७ हजार ३०१ रुपैयाँ खर्च भएको छ ।

महानगरले सबैभन्दा कम खर्च आर्थिक विकास क्षेत्रमा गरेको छ । आर्थिक विकास क्षेत्रमा महानगरले बिनियोजित बजेटमध्ये ३९ प्रतिशत मात्रै खर्च गरेको छ । बिनियोजित २२ करोड ९२ लाख ५० हजारमध्ये ४ करोड ७३ लाख ६१ हजार ६६३ रुपैयाँ मात्रै महानगरले खर्च गरेको छ ।

त्यस्तै, सामाजिक विकास उपक्षेत्रतर्फ महानगरको खर्च ६१.६७ प्रतिशत खर्च भएको छ । महानगरले ३ अर्ब ९७ करोड ७५ लाख २६ हजार ९ सय रुपैयाँ बिनियोजन गरेकोमा २ अर्ब ४५ करोड २८ लाख ९ हजार २७८ रुपैयाँ महानगरले खर्च गरेको छ ।

त्यस्तै, महानगरभित्रका पूर्वाधारको क्षेत्रमा बालेनले आफ्नो कार्यकाल सुरु हुँदा र चुनावकै ताका पनि विभिन्न घोषणा गरेका थिए । तर यस वर्ष बजेट खर्च गर्न गर्नमा भने उनी असफल भएका छन् । पूर्वाधारमा २८.४९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले बिनियोजन गरेको १३ अर्ब ७ करोड १९ लाख ४३ हजार ८८० रुपैयाँमध्ये ३ अर्ब ७२ करोड ४३ लाख ९ हजार ८१९ रुपैयाँ बजेट मात्रै खर्च भएको छ ।

त्यस्तै, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि महानगरको बजेट खर्चको अवस्था दयनीय छ । महानगरले बिनियोजन गरेको २ अर्ब १ करोड ६ लाख ५४ हजारमध्ये २२.०६ प्रतिशतअर्थात ४४ करोड ३५ लाख ८३ हजार ९३९ रुपैयाँ मात्रै महानगरले खर्च गरेको छ ।


क्लिकमान्डु