शंखमुलमा सञ्चालित धार्मिक कार्यक्रममा काठमाडौंं महानगरको हस्तक्षेप



काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अबरोध गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् ।

महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतिसमेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे ।

उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरुले महोत्सव गरेको बताएका थिए ।

नगरप्रहरी र स्थानीयका बीचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।


क्लिकमान्डु