टिकेन नेप्सेको वृद्धि, २६ अंकले घट्यो परिसूचक



काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार २६ अंकले घटेको छ । सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने राष्ट्र बैंकको नीतिलाई जोखिम भार घटाउने भन्ने हल्ला चलाएपछि आइतबार ६३ अंकले बढेको बजार सोमबार २६ अंकले ओर्लिएको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्ने जानकारी गराउँदा बजार २२२७ अंक पार गरेर बन्द भइसकेको थियो ।

गभर्नर अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्ने जानकारी गराए पनि मौद्रिक नीतिमा भन्दा फरक सर्कुलर आउन सक्ने भयले लगानीकर्ताको आत्मबल खस्किएपछि सोमबार बजार घटेको हो ।

सोमबार सेयर बजार परिसूचक २६.६६ अंकले घटेर २२००.५ अंकमा झरेको छ । म्युचुअल फन्ड र अन्यबाहेकका सबै उपसमूह घटेका छन् । हिजो करिब ५ प्रतिशतले बढेको बैंक समूह आज २ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समूह ३.५ प्रतिशतले ओर्लिएको छ भने बाँकी उपसमूह सामान्य अंकले घटेका छन् ।

बजार घट्दा पनि किसान लघुवित्तको सेयर मू्ल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल रि-इन्स्योरेन्स, बलेफी हाइड्रो, बीपीडब्लू लघुवित्त र ग्लोबल आइएमइ बैंक सर्वाधिक बढ्ने कम्पनीको सूचीमा छन् ।

कारोबार रकम भने हिजोभन्दा बढेको छ । आइतबार २६६ कम्पनीको ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा आज २६५ कम्पनीको ४ अर्ब ७३ करोड ७६ करोड रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु