कांग्रेस सांसद शुनिल शर्माको केएमसी अस्पतालले करोडौं फिर्ता नगरेपछि डाक्टर आन्दोलनमा उत्रिए



काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) का इन्टर्न चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

सोमबार चिकित्कहरु आन्दोलनमा उत्रिदाँ अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले इन्टर्न फीको नाममा तोकिएको भन्दा बढी शुल्क लिएको र त्यो फिर्ता गर्ने सहमति भएको भए पनि फिर्ता नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुका अनुसार अस्पतालले एमबीबीएस पास भएका विद्यार्थीसँग इन्टर्न फी भनेर प्रतिविद्यार्थी २ लाख रुपैयाँ लिएको थियो । उक्त रकम अस्पतालमा इन्टर्नको समयमा फिर्ता दिने भनिएको भए पनि फिर्ता नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

१ सयभन्दा धेरै एमबीबीएस पास भएका चिकित्सकहरुको पैसा कलेजले फिर्ता नगरेको उनीहरुको दाबी छ । आन्दोलनमा उत्रिएका चिकित्सकहरुकाअनुसार अस्पताल प्रशासनले २० करोडभन्दा धेरै रकम फिर्ता गर्नुपर्ने हुन्छ ।

कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा अतिरिक्त शुल्क उठाएको उनीहरुको आरोप छ ।

डा शुनिल शर्मा सञ्चालक रहेको कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिइएको हो । आयोगले एमबीबीएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार रुपैयाँ तोकेको भए पनि कलेजले इन्टर्नसीपको शुल्क भन्दै २ लाख लिने गरेको चिकित्सकहरुको भनाइ छ ।

इन्टर्नसिपको समयमा उक्त बढी लिएको रकम तलबमा वा एकमुष्ट रुपमा फिर्ता गर्ने सहमति सुरुमा कलेजले गरे पनि अहिले भने नदिएको भन्दै उनीहरुले अस्पतालमा नाराबाजी गरेका हुन् ।

‘एमबीबीएस पास भएका हामीहरुसँग इन्टर्नको समयमा फिर्ता गर्ने भन्दै २ लाख लिइएको थियो,’ आन्दोलनमा उत्रिएका केएमसीका व्याच नम्बर २१ का एक चिकित्सकले भने, ‘तर अहिले त्यो पैसा फिर्ता भएको छैन । त्यसबारे माग गर्दा हामी दिँदैनौं जे गर्छौं गर भन्दै धम्की दिएपछि आन्दोलनमा उत्रिएका हौं ।’

उनका अनुसार यसअघिको कुनै पनि व्याजका विद्यार्थीसँग लिएको अतिरिक्त रकम अस्पताल प्रशासनले फिर्ता गरेको छैन ।

काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) का प्रिन्सिपल रतिनाथ श्रेष्ठले भने आफूहरुले रकम बढी नलिएको र लिएको प्रमाण विद्यार्थीहरुले पेस गरे रकम फिर्ता दिने दाबी गरे ।

‘जुन फिर्ता गर्ने भनेर लिएको रकम हो त्यो फिर्ता हुन्छ । तर फिर्ता नगर्ने भनेर नियमअनुसार लिएको रकम कसरी फिर्ता हुन्छ?,’ श्रेष्ठले भने,’तोकिएको भन्दा बढी रकम कलेजले लिएको रहेछ भने फिर्ता हुन्छ । तर, त्यसका लागि विद्यार्थीहरुले कागजपत्र दिनु पर्छ ।’

अस्पताल मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा शुनिलकुमार शर्माको हो ।

एप्रोनसहित आन्दोलनमा उत्रिएका चिकित्सकहरुले इन्टर्नसिप फी लिन पाइँदैन, विद्यार्थी शोषय बन्द गर्, अतिरिक्त शुल्क लिन पाइँदैन, सरकारको नियम पालन गर्, २ करोड खोइ ? लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण पत्र

नेपाल चिकित्सक संघले असार १५ गते स्नातक तहका विद्यार्थीहरुको इन्टर्नसिप, अतिरिक्त शुल्क उठाइएको, आवासीय चिकित्सकहरुको सुविधा लगायतका विषयमा चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरी इन्टर्नसिप गर्ने विद्यार्थीहरुले संघलाई पत्राचार नै गरेर इन्टर्नसिप गरिरहेको विद्यार्थीहरुको आयोगले तोकेको भन्दा बढी शुल्क लिएको तथा तलब सुविधा समेत वैज्ञानिक नभएको गुनासो गरेको संघले बुझाएको ध्यानाकर्षण पत्रमा जनाइएको थियो ।

आयोगले तोकेको भन्दा बढी शुल्क लिन नपाउने तथा इन्टर्नसिप गरिरहेका विद्यार्थीहरुलाई मेडिकल अफिसरले प्राप्त गर्ने न्यूनतम तलब सुविधाको कम्तिमा पनि ५० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने र सबै मेडिकल कलेजहरुमा एकरुपता ल्याउने वातावरण सुनिश्चित गर्न भन्दै संघले आयोगलाई ध्यानाकर्षण गराएको हो ।


क्लिकमान्डु