चालु पुँजी कर्जामा ठूला ऋणीलाई छुट्टै मार्गदर्शन, कर्जा अधिकेन्द्रीकरण रोक्ने मौद्रिक नीतिको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय स्रोतको सदुपयोगिता अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवर्धन गर्ने मुख्य उद्देश्य हासिल गर्न चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ठूला ऋणीहरुको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी गर्ने घोषणा गरेको हो । राष्ट्र बैंकले ठूला ऋणीलाई सुपरीवेक्षण गर्ने गरी मार्गदर्शन निर्माणको क्रममा रहेको जनाएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा एकल ग्राहक कर्जा सुविधासम्बन्धी व्यवस्थामा परिमार्जन गरी कर्जा अधिकेन्द्रीकरण घटाउने कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

राष्ट्र बैंकले साना तथा मझौला उत्पादनशील व्यवसायलाई प्रवर्धन गर्ने नीति लिने जनाएको छ ।

त्यसैगरी, बैंकिङ्ग क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने, सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गर्न सुपरिवेक्षकीय सूचना प्रणालीको विकास र प्रयोग गर्ने, समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दबाब आँकलन गर्न माईक्रो स्ट्रेस टेस्टिङ फ्रेमवर्क तयार गरी लागु गर्ने राष्ट्र बैंकको योजना छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय क्षेत्रसँग सम्बन्धित ऐन कानुनहरुको समसामयिक पुनरावलोकन गर्ने विषय समेट समेटिएको छ ।

राष्ट्र बैंक मौद्रिक नीतिमा घोषणा गरिएका सुधारको कार्यान्वयनबाट वित्तीय स्थायित्व प्रवद्र्धन भई दिगो आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।


क्लिकमान्डु