सरकारले काठमाडौंमा प्रतिआना सवा ६ लाखसम्म बढायो जग्गाको मूल्य, कहाँको कति ?



काठमाडौं । आर्थिक मन्दीले घरजग्गा कारोबार गिरावट छाइरहेको बेला सरकारले जग्गाको मूल्य बढाएको छ । चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्यांकन गर्दै सरकारले मूल्य वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष घरजग्गा कारोबारमा ३८ प्रतिशतले कमी आएको छ । आर्थिक मन्दी र कित्ताकाटमा भएको कडाइले गर्दा निराश भएको अवस्थामा सरकारले भने चालु आर्थिक वर्षको मूल्यांकनमार्फत् जग्गाको मूल्य बढाएको छ । मालपोत कार्यालयहरुले प्रतिआना ६ लाख २५ हजारसम्म मूल्य बढाएका छन् ।

उपत्यकाका अधिकांश मालपोत कार्यालयहरुले जग्गाको न्यूनतम मूल्यांकन बढाएका हुन् ।

भूमि व्यवस्थापना तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार हालसम्ममा उपत्यकाका ७ वटा मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्यांकन तोकेको छन् । त्यसमध्ये, कलंकी मालपोत, डिल्लीबजारमा मालपोत र टोखा मालपोत कार्यालयले भने मूल्य बढाएका छैनन् । ति मालपोत कार्यालयहरुले गत वर्षको मूल्यांकनलाई निरन्तरता दिएका छन् ।

उपत्यकाको साँखु मालपोत कार्यालय, मनमैजु मालपोत कार्यालय, भक्तपुर र ललितपुर मालपोत कार्यालयले भने न्यूनतम मूल्यांकन अर्थात मूल्य बढाएका छन्। त्यसबाहेक चावहिल मालपोत कार्यालय र ललितपुर गोटिखेल मालपोत कार्यालयले भने चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्यांकन सार्वजनिक गरेका छैनन् ।

साँखुले १ लाख ८० रुपैयाँसम्म बढायो

साखु मालपोत कार्यालयले आफ्नो क्षेत्रधिकारभित्र पर्ने आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, थली, नयाँपाटी, नाङ्लेभारे, पुशुलाछी, भद्रवास, लप्सिफेदी, साल्खा, सुन्टोल र सुन्दरीजल हाल शंखरापुर नगरपालिका पूरै र कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगारपालिकाका केही भागका जग्गाहरुको मूल्य बढाएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयले आलापोटको कागेश्वरी चक्रपथ मूल पिच सडक भद्रवास सीमानादेखि गागलफेदी सिमानासम्म, मूलपिच सडक गाविस भवनदेखि बागमती खोलाससम्मका जग्गा र आलापोट पधेराबाट आकाशे जाने पिच बाटोको जग्गाको मूल्य प्रतिआना ८ लाख २५ हजार रुपैयाँ तोकेको छ । गत वर्ष ति स्थानमा जग्गाको मूल्य प्रतिआना ७ लाख ५० हजार रुपयाँ रहेको थियो । यसपटक भने मालपोत कार्यालयले जग्गाको मूल्यांकन प्रतिआना ७५ हजार रुपैयाँ बढाएको छ ।

आलापोटका अन्य जग्गाको मूल्य भने प्रतिआना २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म बढेको छ । त्यस्तै, साविकको इन्द्रयणी गाविसभित्रको जग्गाको मूल्य प्रतिआना २० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म, गागलफेदी गाविसभित्रको जग्गाको १० हजारदेखि ७५ हजार रुपैयाँसम्म, थलीछाडीभित्रको २५ हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म र नयाँपाटी गाविस क्षेत्रभित्रको २५ हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म बढाएको छ ।

मालपोत कार्यालयले नाङ्लेभारे गाविसभित्रको जग्गाको ३ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म, पुखुलाछीमा प्रतिवर्गमिटर ५५० रुपैयाँदेखि ३५ सय रुपैयाँसम्म, भद्रवास क्षेत्रको २० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म, लप्सेफेदी क्षेत्रको ४ हजारदेखि ८९ हजार रुपैयाँसम्म, साल्खा क्षेत्रको ७ हजार ५ सय रुपैयाँदेखि ९० हजार रुपैयाँसम्म, सुन्टोल क्षेत्रको २० हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्म र सुन्दरीजनल क्षेत्रको ४ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको छ ।

मनमैजु मालपोतले प्रतिआना डेढ लाख रुपैयाँसम्म बढायो

मनमैजु मालपोत कार्यालयले जग्गाको मूल्य डेढ लाख रुपैयाँसम्म मूल्य बढाएको छ । मालपोत कार्यालयले नेपालटार पुलको छेउछाउको जग्गाको जग्गाको मूल्य प्रतिाआना १६ लाख रुपैयाँ तोकेको छ ।

यसअघि उक्त क्षेत्रको जग्गाको मूल्य प्रतिआना १४ लाख ५० हजार रुपैयाँ तोकेको थियो । ती स्थानको जग्गाको मूल्य प्रतिआना डेढ लाख रुपैयाँसम्म बढेको छ । त्यस्तै, यसअघि १५ लाख ८० हजार रुपैयाँ तोकेको जग्गाको मूल्य बढाएर १७ लाख रुपैयाँ कायम गरेको मालपोत कार्यालयले जनाएको छ ।

मालापोत कार्यालयले काभ्रेस्थली क्षेत्रधिकार परेका सम्पूर्ण जग्गाको मूल्य बढाएर प्रतिआना ५० हजार रुपैयाँदेखि ११ लाख ५० हजार रुपैयाँ कायम गरेको छ । कार्यालयले जग्गाको वर्गीकरणको आधारमा उक्त मूल्य तोकेको हो । त्यसैगरी, काभ्रेस्थली, जितपुरफेदी, गोलढुङ्गा, धर्मस्थली, फुटुङ र मनमैजु क्षेत्रभित्रको जग्गाको मूल्य बढाएर न्यूनतम मूल्यांकन कायम गरेको छ ।

भक्तपुर मालपोतले प्रतिआना ६ लाख २५ हजार रुपैयाँसम्म बढायो

भक्तपुर मालपोत कार्यालयले प्रतिआना नै ६ लाख २५ हजार रुपैयाँसम्म बढाएको छ । विवरणअनुसार सूर्यविनायक नगरपालिकाको ५, ६ र ८ मा रहेको अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य प्रतिआना ६ लाख २५ हजार रुपैयाँसम्म बढाएको छ ।

गत वर्ष सरकारले उक्त क्षेत्रको जग्गाको मूल्य प्रतिआना २८ लाख ७५ हजार रुपैयाँ तोकेको थियो । यो वर्ष बढाएर ३५ लाख रुपैयाँ पुर्‍याएको छ । त्यसैगरी, ९ नम्बर नगरपालिकामा रहेको अरनिको राजमार्ग छेउछाउको जग्गाको मूल्य ७ लाख ७३ हजारदेखि २२ लाख २२ हजार रुपैयाँसम्म तोकेको छ । जग्गाको वर्गाीकरणको आधारमा अन्य जग्गाको मूल्य १७ हजार रुपैयाँदेखि ७ लाख ७३ हजार रुपैयाँसम्म तोकेको छ ।

मालपोत कार्यालयले अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य प्रतिआना ३३ लाख रुपैयाँबाट २ लाख बढाएर ३५ लाख रुपैयाँ पुर्याएको छ । मालपोत कार्यालयले सल्लाघारी, नगरकोट सडक, च्यामासिङ, व्यासीको पक्की सडक छेउछाउको जग्गाको मूल्य २ लाख रुपैयाँसम्म बढाएको छ ।

मालपोत कार्यालयले गत वर्ष उक्त क्षेत्रको जग्गाको मूल्य २० लाख रुपैयाँ तोकेको थियो । यो वर्ष बढाएर २२ लाख तोकेको छ । त्यसबाहेक अन्य जग्गाको मूल्य प्रतिआना १६ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य २६ लाख १३ हजार रुपैयाँबाट २ लाख ६१ हजार ४ सय रुपैयाँले बढाएर १८ लाख ७५ हजार रुपैयाँ तोकेको छ । मालपोत कार्यालयले मध्यपुर थिमी नगरपालिकाको ८ र ९ मा रहेको अन्य जग्गाको मूल्य प्रतिआना २ लाख रुपैयाँदेखि १५ लाख ३० हजार रुपैयाँसम्म कायम गरेको छ ।

त्यसैगरी, प्लानिङको पक्की मोटरबाटो क्षेत्रको वर्गअनुसार ११ लाख रुपैयाँदेखि १७ लाख ५० हजार रुपैयाँ र कच्ची मोटरबाटाको ४ लाख ५० हजार रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म तोकेको छ ।

कार्यालयले मध्यपुर थिमी नगरपालिकाको ४ र ५ को जग्गाको मूल्य करिब २ लाख रुपैयाँदेखि २८ लाख ७५ हजार रुपैयाँसम्म, नगरपालिका ७ को २ लाख १४ हजार रुपैयाँदेखि १५ लाख ३० हजार रुपैयाँसम्म र नगरपालिका नम्बर ५ र ६ को केही भागको जग्गाको मूल्य प्रतिआना २ लाखदेखि २८ लाख ७५ हजार रुपैयाँसम्म तोकेको छ ।

साथै, मालपोत कार्यालयले सूर्यविनायक नगरापलिकाको अन्य क्षेत्र र चाँगुनारायण नगरपालिकाको सम्पूर्ण क्षेत्रको मूल्य बढाएको छ ।

ललितपुर मालपोतले १ लाख रुपैयाँसम्म बढायो

ललितपुर मालपोत कार्यालयले पनि मूल्य बढाएको छ । कार्यालयले बागमती गाउँपालिकाको क्षेत्रमा पर्ने सम्पूर्ण जग्गाको मूल्य प्रतिरोपनी १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बढाएको छ । उक्त क्षेत्रमा प्र्रतिरोपनी जग्गाको मूल्य ३५ हजारदेखि ४ लाख रुपैयाँसम्म छ ।

कोञ्ज्योसोम गाउँपालिकाको प्रतिरोपनी ८० हजार रुपैयाँदेखि ६ लाख ६० हजार रुपैयाँसम्म, गोदावरी नगरपालिका क्षेत्रको जग्गाको अधिकतम मूल्य प्रतिरोपनी १३ लाख ५० हजार रुपैयाँ र महालक्ष्मी नगरापालिकाले अधिकतम प्रतिरोपनी ९ लाख रुपैयाँ तोकेको छ ।

मालपोत कार्यालयल ललितपुरले ललितपुर नगरपालिकाको बुँगमती क्षेत्रको मूल्य बढाएको छैन भने खोकनाको जग्गाको मूल्य एक लाख रुपैयाँसम्म बढाएको छ । खोकनाको मूल पिच सडकमा ७ लाख रुपैयाँ रहेको जग्गाको मूल्य ८ लाख रुपैयाँ पुगेको छ।

सैबु (भैंसेपाटी) क्षेत्र, हरिशिद्धि क्षेत्र, धापाखेल, सुनाकोठीलगायत अन्य क्षेत्रको भने मूल्य बढेको छैन ।


क्लिकमान्डु