नेपालमा फिल्मको व्यापार वार्षिक डेढ अर्ब
नेपालीमा सबैभन्दा धेरै १७ करोड ५२ लाख कमायो छक्का पञ्जा ४ ले, विदेशी फिल्ममा पठानको कमाइ १३ करोड
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी फिल्मको कुल व्यापार १ अर्ब ५३ करोड १५ लाख ६१ हजार ७४९ को भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस कलेक्सन रिपोर्टअनुसार नेपालमा गत आवमा रिलिज भएका ५७ स्वदेशी तथा ७८ विदेशी फिल्मको कुल व्यापार १ अर्ब ५३ करोड १५ लाख ६१ हजार ७४९ रुपैयाँको भएको हो ।
विकास बोर्डका अनुसार यो रिपोर्ट बोर्डले चलचित्रलाई प्रदान गरेको ‘मूभि कोड’का आधारमा प्रदर्शनमा आएका फिल्महरुको कलेक्सन हो । कुल व्यापारमध्ये प्रदर्शन भएका ५७ नेपाली फिल्मले ७३ करोड ७२ लाख ५७ हजार १ रुपैयाँको व्यापार गरेका छन् । २७ लाख १६ हजार २१७ वटा टिकट बिक्री हुँदा नेपाली फिल्मको कुल व्यापार यति भएको हो ।
त्यस्तै, नेपालमा गत आवमा ७८ विदेश फिल्म रिलिज भएका थिए । यी फिल्मका लागि कुल २५ लाख ७५ हजार ६०२ टिकट बिक्री भएको र यसबापत ७९ करोड ४३ लाख ४ हजार ७४८ रुपैयााको व्यापार भएको विकास बोर्डले जनाएको छ ।
सबैभन्दा धेरै आम्दानी गर्ने नेपाली फिल्ममा छक्का पञ्जा ४ रहेको छ । बोर्डका अनुसार गत मार्च ३ बाट रिलिज भएको उक्त फिल्मका लागि कुल ६ लाख २९ हजार ७५० टिकट बिक्री भएको थियो । यसबापत फिल्मले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँको आम्दानी गरेको छ ।
त्यससँगै धेरै आम्दानी गर्ने शीर्ष पाँच नेपाली फिल्ममा क्रमशः जारी (प्रदर्शन भइरहेको) १७ करोड १७ लाख ९५ हजार, प्रेम गीत ३ को ७ करोड ७० लाख ३५ हजार, महापुरुष ७ करोड ३८ लाख ९१ हजार ९२० र दुई नम्बरीको ३ करोड ८४ लाख ९१ हजार रुपैयाँ कमाइ छ ।
प्रदर्शन भएका ५७ फिल्ममध्ये सबैभन्दा कम आम्दानी भने सिवानी नामको फिल्मले गरेको छ । यस फिल्मका कुल ५ टिकट बिक्री भएका थिए भने ५२० रुपैयाँ आम्दानी भएको बोर्डले जनाएको छ ।
नेपालमा प्रदर्शन भएका विदेशी फिल्ममध्ये सबैभन्दा धेरै हिन्दी फिल्म पठानले आम्दानी गरेको छ । ४ लाख ३७ हजार ५८५ टिकट बिक्री भएको यो फिल्मले कुल आम्दानी १३ करोड २८ लाख ८१० रुपैयाँ गरेको बोर्डले जनाएको छ ।
सबैभन्दा कम आम्दानी गर्ने विदेशी फिल्ममा पनि भारतीय फिल्म रिस्तोका बटवारा नामक फिल्म छ । उक्त फिल्मका २६ टिकट बिक्री हुँदा २ हजार १६० रुपैयाँ आम्दानी गरेको बोर्डले जनाएको छ ।