बजार शिथिल हुँदा बैंकको कर्जा असुली अपेक्षाअनुसार भएन: गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार शिथिल हुँदा बैंकको कर्जा असुली अपेक्षाअनुसार नभएको बताएका छन् । अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा गभर्नर अधिकारीले बजारमा शिथिलता रहेकाले त्यसको असर बैंकको रिकोभरीमा परेको बताएका हुन् ।
‘तथापि केही हदसम्म यो वर्ष रिकोभरी राम्रो नै रह्यो,’ उनले भने, ‘सबै क्षेत्रमा रिकोभरी अपेक्षाअनुसार हुने भने देखिँदैन ।’ उनले बजेटले लिएको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउने बताए ।
अहिले गत वर्षको तुलनामा बाह्य क्षेत्र सहज भएको गभर्नरले बताए । बहिले बजारमा कर्जाको माग निकै कम रहेको उनको भनाइ छ । कर्जाको माग कम हुनुको कारण भने उनले खुलाएनन् ।
गत वर्ष २७ खर्बको स्थायी तरलता सुविधा (एसएलएफ) प्रवाह गरेको उनले जानकारी दिए । बैंकिङ सिस्टममा बढी भएको ६० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत खिचिएको उनले बताए । ‘यसले ब्याजदर वाञ्छित सीमाभित्र राख्न सहज हुनेछ,’ उनले भने।
अघिल्लो वर्षको तुलनामा गत वर्ष ब्याजदर बढी भए पनि चालू आवको अन्तिममा ब्याजदर घटदै गएको उनले बताए ।
‘अहिले कर्जाको ब्याजदर करिब साढे १२ प्रतिशतको हाराहारीमा छ,’ गभर्नर अधिकारीले भने ।
अर्थतन्त्रमा रियल सेक्टरमा अस्थिरता र सरकारी राजस्व र खर्चमा देखिएकाे खाडल कसरी सन्तुलित बनाउने भन्ने चुनाैती रहेको उनले बताए । आउने साता माैद्रिक नीति ल्याउने जानकारी उनले दिए ।
छलफलमा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले सन् २०२३ मा आर्थिक विकास कम हुने र २०२४ मा सुधार हुने आईएमएफको प्रक्षेपणबारे जानकारी गराए । चीनबाहेकका देशको मौद्रिक नीति कसिलो रहेको उनले बताए ।
भारतको नीतिगत दर ६.५ प्रतिशत रहेको र बंगलादेशमा पनि निकै कसिलो मौद्रिक नीति आएको उनले जनाए ।
‘नेपालले विभिन्न देशको अभ्यासलाई पनि हेरिरहेको छ,’ उनले भने ।