काठमाडौंमा ७ हजार १०१ बैकिङ कसुरका मुद्दा



काठमाडौं । काठमाडौं जिल्लामा एक वर्षमा बैकिङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैकिङ कसुरसम्बन्धी ७ हजार १०१ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैकिङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए ।

‘आव २०७८/७९ मा ३७ सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो”, उनले भने ।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८/७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

यसैगरी, आव २०७९/८० मा लागुऔषधमा ३ सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौंभित्र ३ सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए । काठमाडौँमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा ५ सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् ।

सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।


क्लिकमान्डु