स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट राष्ट्र बैंकको ब्याजदर नीति उल्लंघन



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकको ब्याजदर नीति उल्लंघन गरेको छ । एक पटकमा १० प्रतिशतभन्दा ब्याजदर घटाउन या बढाउन नपाइने राष्ट्र बैंकको नीतिविरुद्ध स्ट्यान्डर्ड चार्टर्ड बैंकले त्योभन्दा बढीले ब्याजदर घटाएको हो ।

असार ३१ गते सूचना जारी गरी साउनदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकले सचेत गराएपछि आज सच्याएको छ ।

बैंकले साउनबाट लागू हुने गरी साधारण बचततर्फका एक्सेस प्लस, किडी बैंक, स्ट्यान्डर्ड चार्टर्ड वुमन र सेयरहोल्डर अकाउन्टमा ४.८५ प्रतिशत ब्याजदर सार्वजनिक गरेकोमा साउन १ गते पुन: अर्को सूचना निकालेर ४.९७ प्रतिशत बनाएको छ ।

त्यस्तै सिनियर सिटिजन र नर्मल सेभिङ खाताको ब्याजदर असार ३१ गते ५.८ प्रतिशत सार्वजनिक गरिएकोमा साउन १ गते सच्याएर ५.९२ पुर्‍याइएको छ ।

पे रोल प्लस एकाउन्ट र अमूल्य बचत खातामा बैंकले हिजो ६.४४ प्रतिशत ब्याज दिने जनाएकोमा आज बढाएर ६.५६ र स्पेसल सेभिङ एकाउन्टमा ६.४५ बाट बढाएर ६.५७ बनाइएको छ ।

बैंकले रेमिट्यान्स सेभिङ एकाउन्टको ब्याजदर पनि बढाएको छ । असार ३१ गते ७.४५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको बैंकले साउन १ गते ७.५७ पुर्‍याएको हो ।


क्लिकमान्डु