बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ



काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । एमाले नेता यादव चेक बाउन्स आरोपमा पक्राउ परेका हुन् ।

रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा मन्त्री यादवले माघ १० मा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको बाउन्स भएको थियो । चेक बाउन्सको मुद्दा दर्ता भएपछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

रुपन्देही प्रहरीले बाँकेको डुडुवा गाउँपालिका होलियाबाट यादवलाई हिजो नियन्त्रणमा लिएको हो ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभा निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘क’ बाट यादव जनता समाजवादी पार्टीबाट विजयी बनेका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बने ।

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले यादवलाई कारबाही गर्‍यो । त्यसपछि उनी २०७९ सालको चुनावअघि एमालेमा प्रवेश गरे । गत प्रदेशसभा चुनावमा भने उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।


क्लिकमान्डु