सानिमा बैंकलाई आईएसओ २७००१ प्रमाणपत्र



काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

आन्तरिक तथा बाह्य सेवाग्राहीलाई सुरक्षित र गुणस्तरीय सूचना प्रविधि तथा सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराएको भन्दै बैंकलाई आईएसओ २७००१ प्रमाणपत्र प्रदान गरिएको हो ।

बैंकले सधैं सेवाग्राहीका तथ्यांक र तथ्यांक प्रणालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । बैंकले प्राप्त गरेको गुणस्तरीयताको उपलब्धिले सूचना प्रविधिको सुरक्षा र तथ्यांक संरक्षणका विषयमा अहिले भइरहेको प्रयासमा थप बल पुग्ने विश्वास बैंकले लिएको छ ।

आफ्ना सेवाग्राहीका तथ्यांकलाई अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित ढंगले राखेको र उपयोग गरेको जानकारी पाएर २७००१ प्रमाणपत्र प्रदान गर्नुले थप जिम्मेवार बन्न प्रेरणा मिलेको सानिमा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली बलियो रहेको स्पष्ट पारेको बैंकले जनाएको छ । बैंकलाई बेलायतको मान्यता प्राप्त एमटिभो ग्रुपअन्तर्गतको निकायले यो प्रमाणीकरण प्रदान गरेको हो ।

सानिमा बैंकले देशभरका सातै प्रदेशमा रहेका १३२ शाखा कार्यालय तथा १२२ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु