इन्धनको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू, केलाई कति पर्छ अब ?



काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुने भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने भएको हो ।

निगमका अनुसार हवाई इन्धनको हकमा साविक बमोजिमकै व्यवस्था रहनेछ भने अन्य इन्धनको हकमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा आउनेछ ।

स्वचालित मूल्य प्रणाली लागू भएसँगै निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर पेट्रोलियम पदार्थको मूल्य तोक्नेछ । एलपी ग्यासको मूल्यमा भने निगमले कुनै पनि नाफा राख्ने छैन । स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा आएसँगै पेट्रोलियम पदार्थको परल मूल्य बढ्दा उपभोक्तालाई गरिने बिक्री मूल्यमा पनि वृद्धि हुन्छ ।

हाललाई निगमले सम्पूर्ण किसिमका पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४-४ रुपैयाँ तथा एलपी ग्यास (खाना पकाउने ग्यास)मा प्रतिसिलिन्डर १० रुपैयाँका दरले मूल्य घट्ने निगमले जनाएको छ ।


क्लिकमान्डु