यी हुन् ब्याजदर घटाउने ९ वटा वाणिज्य बैंक



काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये साउनदेखि लागू हुनेगरी ९ वटाले ब्याजदर घटाएका छन् । २० मध्ये ५ बैंकले ब्याज बढाउँदा ६ वटाले स्थिर राखेका छन् ।

तीनवटै सरकारी बैंकहरु कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले ब्याज घटाएका छन् । कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत तथा नेपाल बैंकले व्यक्तिगततर्फ ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यस्तै निजी बैंकहरुमा सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, प्रभु, माछापुच्छ्रे र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले व्यक्तिगततर्फ ९.५२ र संस्थागततर्फ ७.५२ तथा एभरेष्ट बैंकले व्यक्तिगततर्फ ९.५ र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर बनाएको छ ।

त्यस्तै प्रभु बैंकले साउन १ देखि लागू हुने गरी व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ तथा माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएका छन् ।

सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९५ प्रतिशत छ । व्यक्तिगत मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याज दिने बैंकले संस्थागततर्फ ६.९५ प्रतिशत ब्याज दिने जनाएको छ ।

एनएमबि, प्राइम, नबिल, कुमारी र एनआईसी एसियाले ब्याज बढाएका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नेपाल एसबिआई, हिमालयन र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन् ।


क्लिकमान्डु