यी हुन् ब्याजदर बढाउने ५ वाणिज्य बैंक, कुनले कति दिन्छन् ?



काठमाडौं । साउन १ गतेदेखि लागू हुनेगरी बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा ५ वािणज्य बैंकले बढी ब्याज दिने घोषणा गरेका छन् । एनएमबि, एनआइसी एशिया, प्राइम, नविल र कुमारी बैंकले ब्यादर बढाएका हुन् ।

बैंकर्स संघका अध्यक्ष सीइओ रहेको एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । एनएमबिले १० वर्षभन्दा माथिको मुद्दति निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकर्स संघले लामो समयदेखि भद्र सहमति गरेर सबै बैंकको ब्याजदर एउटै राखेको थियो । असार अन्तिममा बसेको संघको पूर्ण बैठकले भद्र सहमति राखेज गरेर बैंकहरुले स्वतन्त्ररुपमा ब्याज निर्धारण गर्न पनउने ब्यवस्था गरेको थियो ।

संघका अध्यक्ष सुनिल केसी सीइओ रहेको एनएमबिले भद्र सहमति खारेज भएलगत्तै सबैभन्दा बढी ब्याज दिने भएको हो ।

एनएनबिले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतिमा भने ब्याज ९ प्रतिशतमा झारेको छ । त्यस्तै ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत बनाइएको छ ।

त्यसैगरी १ देखि २ वर्ष मुद्दतिमा ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दतिमा ९.७५ प्रतिशत ब्याज प्रदान गरिने बैंकद्वारा जारी नयाँ ब्याजदरमा उल्लेख छ । बैंकले साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९७ प्रतिशत ब्याज तोकिएको जनाएको छ।

रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा बैंकले ८.९८ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.९३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । बैंकले ३ महिनादेखि १५ वर्षका व्यक्तिगत मुद्दति निक्षेपमा उक्त ब्याजदर दिने जनाएको छ । मासिकरुपमा जम्मा गरी मुद्दतिमा कन्भर्ट हुने योजनामा पनि बैंकले व्यक्तिलाई सोही ब्याजदर दिने भएको छ ।

त्यस्तै, ६ महिनादेखि १५ वर्षसम्मका लागि संस्थागत मुद्दति निक्षेप राख्नेले पनि ८.९३ प्रतिशत ब्याजदर पाउने भएका छन् ।

त्यस्तै, बचततर्फ न्यूतम ६.०७३ देखि अधिकतम ८.०७३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

त्यस्तै, प्राइम बैंकले ३ महिनादेखि माथिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले संस्थागत मुद्दति निक्षेपमा ८.९३ प्रतिशत र रेमिट्यान्स मुद्दति निक्षेपमा १२.५० प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले बचत खातातर्फ रेमिटान्समा ९ प्रतिशत ब्याज दिने भएको छ भने अन्य बचत खातामा न्यूनतम ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार दुई वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ ।

त्यस्तै, ६ महिनादेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.४९ प्रतिशत र क्युमुलेटिभ फिक्स्ड डिपोजिटमा ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै, नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा ११.४९ प्रतिशत ब्याज दिने जनाएको छ ।

बचत निक्षेपतर्फ बैंकले नबिल प्रिमियम रेमिट्यान्स बचत खातामा सबैभन्दा बढि अर्थात ८.९० प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै, नबिल गोल्ड बचत खाता, कर्पोरेट बचत खाता, नबिल गोल्ड पेरोल बचत खाता, नबिल ढुक्क बचत खातामा ७.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

यससँगै नबिल सेयरहोल्डर्स बचतखाता र नबिल प्रिमियम पेरोल बचतखातामा ६.४० प्रतिशत ब्याज र कर्पोरेट प्रिमियम बचतखातामा ६.९० प्रतिशत र अरु सबै प्रकारका बचत खातामा ५.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

कुमारी बैंकले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, १ वर्षदेखि ५ वषसम्मकोमा ९.९९ प्रतिशत र ३ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत मुद्दति निक्षेपमा ९.९० प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले बचतमा न्यूनतम ५.४० देखि ७.४० प्रतिशतसम्म ब्याज दिने भएको छ ।


क्लिकमान्डु