कामना सेवाले सार्वजनिक गर्यो विकास बैंकमध्ये सबैभन्दा कम ब्याजदर, ऋणीलाई फाइदा हुने
काठमाडौं । कामना सेवा विकास बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेपमा विकास बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर सार्वजनिक गरेको हो ।
कामना सेवाले सार्वजनिक गरेको नयाँ ब्याजदर कतिपय वाणिज्य बैंकहरुको भन्दा कम छ ।
बैंकले १ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ भने ६ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.०१ र ३ महिनादेखि ६ महिनाको मुद्दति निक्षेपमा ८ प्रतिशत ब्याज दिने जनाएको छ ।
त्यस्तै, बैंकले ६ महिनादेखि माथिको संस्थागत निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकले रेमिट्यान्स मुद्दति निक्षेपमा १०.९९ प्रतिशत ब्या दिने जनाएको छ ।
त्यसैगरी, बचततर्फ बैंकले अधिकतम ८.५० देखि न्यूनतम ५.५० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । एनआरएन बचत खातामा सबैभन्दा धेरै अर्थात् ८.५० प्रतिशत ब्याज प्रदान गर्नेछ भने शुभश्री बचत खाता र केएस पीएमएस सेभिङ एआउन्टमा ७.५० प्रतिशत ब्याज दिनेछ ।
त्यस्तै, सुभलाभ लगानी बचत खातामा ७.२५ र प्रिमियम सेभिङ एकाउन्टमा ७ प्रतिशत ब्याज प्रदान गर्नेछ ।
केएस स्पोर्ट प्रिमियम सेभिङ एकाउन्टमा ५.६५ प्रतिशत र अरु सबैखाले बचत खातामा ५.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले कर्जातर्फको ब्याजदर पनि सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेप धितो राखेर प्रवाह गरिने कर्जामा आधार दरमा अधिकतम ३ प्रतिशत प्रिमियम थप गर्ने जनाएको छ ।
विपन्न वर्गलाई दिने कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत प्रिमियम थप गर्ने छ भने अरु सबै प्रकारका कर्जामा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । बैंकको आधार दर १२.०६ प्रतिशत छ ।
बैंकले फिक्स्ड व्यक्तिगत आवधिकतर्फ १३.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।
बैंकले निक्षेपको ब्याजदर घटाउँदा आधार दर घट्न गई ऋणीलाई राहत दिने नीति लिएको देखिन्छ ।