पहिरोको जोखिममा रहेका ताप्लेजुङको ओदकका ६४ परिवारलाई स्थानान्तरण गरिने



सांकेतिक तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । उनका अनुसार अस्थायी टहरा निर्माणका लागि सबै राजनीतिक पार्टी, सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टोली खटिनेछ । काम साउन ७ देखि प्रारम्भ हुनेछ ।

स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गरे ।

बाढीपहिरोका कारण गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुलसमेत बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिराकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ ।


क्लिकमान्डु