आईएमई लाइफको आईपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन, पौने ४ अर्बको सेयर माग



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् ।

सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात् सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाइफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो । कम्पनीले १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँबराबरको आवेदन परेको हो ।

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात् ६ लाख कित्ता संस्थाका कर्मचारीलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको गरेको थियो ।


क्लिकमान्डु