दोस्रोपटक स्पष्टीकरण सोधिएपछि क्यानका महानिर्देशक अधिकारीले बुझाए जवाफ



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोधेका प्रश्नको जवाफ पेश गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारी टेकनारायण पाैडेलले महानिर्देशक अधिकारीले शुक्रबार जवाफ पेश गरेका जानकारी दिए ।
‘शुक्रबार दिँउसाे १ बजे तिर उहाँले जवाफ पेश गर्नु भएको थियो’, पौडेलले भने, ‘जवाफको व्यहोराबारे मलाई जानकारी छैन ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बिहीबार क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असार ११ गते सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेका थिए ।

बुधबार पर्यटनमन्त्री किरातीले मन्त्रिस्तरीय निर्णय गर्दै अधिकारीसँग ३ दिनभित्र दोस्रो पटक जवाफ मागेका थिए ।

३ दिन भित्र जवाफ पेश गर्न भनिएपनि अधिकारीले स्पष्टीकरण सोधिएको दाेस्रो दिन नै मन्त्रालयमा जवाफ पेश गरेका थिए ।

मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका थिए ।
७ दिनभित्र जवाफ दिन निर्देशन दिए पनि आफूलाई मन्त्रीले प्रश्न सोध्न नपाउने तर्क गर्दै अधिकारीले मन्त्रीले सोधको जवाफ दिन अस्वीकार गरेका थिए ।

अधिकारीले आफ्नो समाजिक संजाल टुईटरमा प्राधिकरण स्वात्त संस्था भएको उल्लेख गरेका थिए । यस्तै, विभिन्न सञ्चार माध्यममा अधिकारीले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्नु पर्ने बताएका थिए ।

मंगलबार दिँउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको मन्त्रिपरिषद्को बैठकमा पनि अधिकारीलाई स्पष्टीकरण सोध्ने विषयले प्रवेश पाएको थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार पर्यटन मन्त्री किरातीले पटक पटक ऐन कानून विपरित काम गरेपछि महानिर्देशक अधिकारीलाई स्पष्ट पार्न पत्र लेखिएको मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए । यस्तै, बैठकपछि प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल र पर्यटन मन्त्री किरातीबीच गोप्य छलफल भएको थियो ।

प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच भएको छलफलमा कुनै पनि अन्य व्यक्ति सहभागी नभएकाले दुई जनाबीच के छलफल भयो भने स्पष्ट हुन सकेको छैन । तर, प्रधानमन्त्रीसँगको दुई पक्षीय भेटपछि पर्यटन मन्त्रीले दोस्रो पटक अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाले दुई जनाबीच अधिकारीलाई कारबाही गर्ने विषयमा सहमति भएको अनुमान गर्न सकिन्छ ।

अधिकारी २०७८ माघ १८ गते तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई रिझाएर आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै प्राधिकरणको महानिर्देशक भएका थिए ।

११औं तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै तत्कालिन पर्यटन मन्त्री आलेले महानिर्देशक नियुक्त गरेका थिए । मन्त्री किरातिले गरेको निर्णयमा महानिर्देशक भएपछि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय हुनु भन्दा पनि विवादस्पदकाममा संलग्न रहेको भन्दै स्पष्ट पार्न भनिएको थियो ।

महानिर्देशक अधिकारीले स्पष्टीकरण प्राप्त भएकै दिन केही सञ्चारमाध्यममा गोप्य हुनुपर्ने स्पष्टीकरणपत्र फेसबुकबाट मन्त्रीले सार्वजनिक गरेको भन्दै जवाफ नदिने बयान दिएका थिए ।

स्पष्टीकरण सोधिएकै दिन महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए । सो दिन मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री पुत्री गंगा दाहालको सहयोगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर सेवा प्रदायक र नियाकम निकाय बनाउनु पर्ने नीति लिएपनि अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा थिए । उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा सर्त नियमावली विपरित भएको स्पष्टीकरणमा उल्लेख गरिएको थियो ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटनका दिन एलएलएभी समय उल्लंघन गर्दै उडान गरिएको विषयमा पनि अधिकारीलाई स्पष्ट पार्न निर्देशन दिएको थियो ।

क्लिकमान्डुले गत फागुनमा १७ गते पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।


क्लिकमान्डु