जुकरबर्गको ‘थ्रेड्स’: सार्वजनिक भएको ४८ घण्टामा नै ८ करोडभन्दा धेरै प्रयोगकर्ता
एजेन्सी । ट्विटरको विकल्पको रुपमा मेटाले ल्याएको ‘थ्रेड्स’मा दुई दिनमा नै ८ करोड प्रयोगकर्ता भएका छन् । ५ जुलाईमा सार्वजनिक भएको उक्त सामाजिक सञ्जालको माध्यममा ७ जुलाईमा नै ८ करोडभन्दा धेरै प्रयोगकर्ताले साइनइन गरेका हुन् ।
सर्च इन्जिन जर्नलकाअनुसार थ्रेड्स सार्वजनिक भएको ४८ घण्टामा नै ८ करोडभन्दा धेरै प्रयोगकर्ता भएका छन् । यो भनेको यसअघि ‘च्याटजिपिटी’ले बनाएको रेकर्डभन्दा धेरै हो ।
मेटाका सिईओ मार्क जुकरबर्गले थ्रेड्स सार्वजनिक भएसँगै आफूले अपेक्षा गरेकोभन्दा धेरै प्रयोगकर्ताहरु जोडिएको पनि बताएका छन् । जुकरबर्गले एप सार्वजनिक भएको ७ घण्टामा नै १ करोड मान्छेहरुले साइन इन गरेको बताएका थिए ।
थ्रेड्सले जुन गतिमा प्रयोगकर्ताहरु पाइरहेको छ, यसले विगतमा बनेका रेकर्डहरुलाई पनि तोड्ने अनुमान गरिएको छ । सर्च इन्जिन जर्नलकाअनुसार थ्रेड्समा १० करोड प्रयोगकर्ता केही दिनमा नै पुग्ने छ । यसअघि च्याटजिपिटीले दुई महिना, टिकटकले ९ महिना र इन्स्टाग्रामले साढे दुई वर्षमा १० करोड प्रयोगकर्ता पाएको थियो ।
इन्स्टाग्राम र थ्रेड्सबीचको लिंकका कारण पनि थ्रेड्समा प्रयोगकर्ताहरुको संख्या तीव्र गतिमा बढिरहेको छ । यसले थ्रेड्सले ट्विटरका लागि जोखिम बोकेको भन्ने तर्कहरु पनि अघि आएका छन् ।
थ्रेड्स एप फेसबुक, इन्स्टाग्राम, फेसबुकजस्ता सामाजिक सञ्जालका एपहरुको मुल कम्पनी मेटाले ल्याएको नयाँ सामाजिक सञ्जाल हो । इन्स्टाग्रामका प्रयोगकर्ताहरुले सहजै प्रयोग गर्न पाउने यो एपमा ट्विटरमा जस्ता सिमित शब्दहरुमा आफ्नो विचार, तस्बिर तथा भिडियोहरु सम्प्रेषण गर्न सकिनछ ।