आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएका छौं, ब्याजदर घटाउन राष्ट्र बैंकलाई भनेको छु : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा उनले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका हुन् ।

उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि बताए । कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरेको स्पष्ट पारे ।

महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताए । उनले चर्को ब्याजदर घटाउन आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।

उनले कोभिडलगायतका समस्याका कारण मर्कामा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए । अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको उल्लेख गरे ।


क्लिकमान्डु