प्रधानमन्त्रीको अभिव्यक्तिपछि बालेनको प्रश्न: भारतीय गुलामहरुले देश चलाउँदैछ, म मात्र बिरोधमा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।
मेयर शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो शंका व्यक्त गरेका हुन् । उनले भारत(दिल्ली) को आदेश मान्ने सांसदको सरकारमा बहुमत रहेको टिप्पणी गरेका छन् ।
‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो’ बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
उनले भारतीय गुलामहरुले देश चलाइरहेको र आफू मात्र त्यसको बिरोधमा रहेको हो भन्दै प्रश्न गरेका छन् । आफूलाई मात्र अदालतको अबहेलनामा मुद्दा चलेको भन्दै उनले लेखेका छन्, ‘सबै जना मरेका लाशहरु हुन् ?’
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतको हात रहेको भन्ने खालको अभिव्यक्ति दिएका थिए । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोध गर्दै एमालेले संसदमा प्रधानमन्त्रीको राजीनामा मागेको छ । तर सत्ता गठबन्धन दलहरुको आजको बैठकले भने प्रधानमन्त्रीको भनाइलाई तोडमोड गरेर बिपक्षीले प्रचार गरेको र प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनको यस्तो बहुमत आएसँगै बालेनले कडा टिप्पणी गरेका हुन् ।