बजारबाट पैसा नउठ्दा समस्या भयो, मौद्रिक नीति खुकुलो हुनुपर्छ: चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले एक भएर राष्ट्र बैंकलाई सुझाव दिएको बताएका छन् । सबैको माग उस्तै खाले हुने भएकाले संयुक्तरुपमा सुझाव दिएको उनको भनाइ छ ।
आगामी मौद्रिक नीतिका बारेमा राष्ट्र बैंकलाई सुझाव दिन बिहीबार आयोजित कार्यक्रममा ढकालले सरकारले ल्याएको बजेटको लक्ष्य पूरा गर्न आउने मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए । कसरी मौद्रिक नीति खुकुलो बनाउन सकिन्छ भन्ने सुझाव आफूहरुले दिएको उनले बताए । मुद्दतीमा ब्याज बढ्दा बचतको पैसा मुद्दतीमा गएको उनले बताए ।
मुद्दतीमा राख्ने ब्याज एकै खाले भएको भन्दै यो समय अनुसार कम बढी बनाउने आवश्यक रहेको उनको भनाइ छ ।
उनले आधारदर घटनु पर्छ भन्ने सुझाव दिएको बताए । बैंकिङ प्रणालीमा ४ खर्ब अधिक तरलता हुँदा पनि कर्जा विस्तार हुन नसकेको भन्दै ढकालले केही समयका लागि आधारदर घटाउन आग्रह गरे ।
ढकालले अहिले बजारबाट पैसा नउठ्दा समस्या सृजना भएको उनले बताए । वर्किङ क्यापिटल गाईडलाईनमा संशोधन गर्न उनले आग्रह गरे ।
व्यवसायीले बैंक तथा वित्तीय संस्थामा सहजै लोन पाउदा सेयर बजारमा लगानी, जग्गा किन्ने, गाडी किन्ने काम गरेको र उत्पादनमा लगानी नगरेर गल्ती भएको स्वीकारे । यो बिषय निजी क्षेत्रले रियलाईज्ड गरेको उनको भनाइ छ ।