क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक मन्त्रालयले सोध्यो स्पष्टीकरण



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असार ११ गते सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो । बुधबार पर्यटनमन्त्री किरातीले मन्त्रिस्तरीय निर्णय गर्दै अधिकारीसँग ३ दिनभित्र दोस्रो पटक जवाफ मागेको हो ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई गत असार ११ गते ९ बुदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ न आएपछि मिति २०८०/०३/२० को मन्त्रिस्तरीय निर्णयअनुसार के कति कारणले जवाफ नपठाएको हो स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन अनुरोध गरिएको छ’ मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले भने ।

मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका थिए । ७ दिनभित्र जवाफ दिन निर्देशन दिए पनि आफूलाई मन्त्रीले प्रश्न सोध्न नपाउने तर्क गर्दै अधिकारीले मन्त्रीले सोधको जवाफ दिन अस्वीकार गरेका थिए ।

अधिकारीले आफ्नो समाजिक संजाल टुईटरमा प्राधिकरण स्वात्त संस्था भएको उल्लेख गरेका थिए । यस्तै, विभिन्न सञ्चार माध्यममा अधिकारीले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्नु पर्ने बताएका थिए ।

मंगलबार दिँउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको मन्त्रिपरिषद्को बैठकमा पनि अधिकारीलाई स्पष्टीकरण सोध्ने विषयले प्रवेश पाएको थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार पर्यटन मन्त्री किरातीले पटक पटक ऐन कानून विपरित काम गरेपछि महानिर्देशक अधिकारीलाई स्पष्ट पार्न पत्र लेखिएको मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए । यस्तै, बैठकपछि प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल र पर्यटन मन्त्री किरातीबीच गोप्य छलफल भएको थियो ।

प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच भएको छलफलमा कुनै पनि अन्य व्यक्ति सहभागी नभएकाले दुई जनाबीच के छलफल भयो भने स्पष्ट हुन सकेको छैन । तर, प्रधानमन्त्रीसँगको दुई पक्षीय भेटपछि पर्यटन मन्त्रीले दोस्रो पटक अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाले दुई जनाबीच अधिकारीलाई कारबाही गर्ने विषयमा सहमति भएको अनुमान गर्न सकिन्छ ।

अधिकारी २०७८ माघ १८ गते तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई रिझाएर आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै प्राधिकरणको महानिर्देशक भएका थिए ।

११औं तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै तत्कालिन पर्यटन मन्त्री आलेले महानिर्देशक नियुक्त गरेका थिए । मन्त्री किरातिले गरेको निर्णयमा महानिर्देशक भएपछि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय हुनु भन्दा पनि विवादस्पदकाममा संलग्न रहेको भन्दै स्पष्ट पार्न भनिएको थियो ।

महानिर्देशक अधिकारीले स्पष्टीकरण प्राप्त भएकै दिन केही सञ्चारमाध्यममा गोप्य हुनुपर्ने स्पष्टीकरणपत्र फेसबुकबाट मन्त्रीले सार्वजनिक गरेको भन्दै जवाफ नदिने बयान दिएका थिए ।

स्पष्टीकरण सोधिएकै दिन महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए । सो दिन मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री पुत्री गंगा दाहालको सहयोगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर सेवा प्रदायक र नियाकम निकाय बनाउनु पर्ने नीति लिएपनि अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा थिए । उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा सर्त नियमावली विपरित भएको स्पष्टीकरणमा उल्लेख गरिएको थियो ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटनका दिन एलएलएभी समय उल्लंघन गर्दै उडान गरिएको विषयमा पनि अधिकारीलाई स्पष्ट पार्न निर्देशन दिएको थियो ।

क्लिकमान्डुले गत फागुनमा १७ गते पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।


क्लिकमान्डु