घोराही सिमेन्टको आईपीओमा दिएको आवेदन रद्द गरेर पैसा फिर्ता लिन सकिने



काठमाडौं । के तपाईले घोराही सिमेन्टको साधारण सेयर (आईपीओ)मा आवेदन दिनु भएको थियो ?

आवेदन दिएपछि बिचैमा आवेदन प्रकृया रोकिँदा दिएको आवेदन खारेज गरेर पैसा फिर्ता गरौं भन्ने सोचमा हुनुहन्छ ? यदी त्यसको हो भने तपाईले दिएको आवेदन खारेज गरेर पैसा फिर्ता पाउन सक्नु हुने भएको छ ।

कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि बोर्डले गठन गरको जाँचबुझ समितिको प्रतिवेदनले आईपीओमा दिएको आवेदन फिर्ता गर्न वा खारेज गर्न सक्ने व्यवस्था गरेको छ । बोर्डले गरेको यो व्यवस्थाले आईपीओ आवेदन दिएकाहरुले पैसा फिर्ता लिन चाहेको खण्डमा पाउने भएका छन् । आईपीओमा आवेदन दिएका आवेदकको करिब साढे ४ अर्ब पैसा २० दिनदेखि बन्धन बनेको छ । लामो समय पैसा बन्धन बनेपछी कुनै आवेदकले आवेदन खारेज गरेर पैसा फिर्ता चाहेको खण्डमा त्यसका लागि बाटो खुलेको हो ।

कम्पनीको आईपीओमा १२ जना आवेदकले खातामा पैसा नभइ १० लाख कित्ताका दरले आवेदन दिएका थिए । फर्जी आवेदन परेपछि बोर्डले आवेदन प्रकृया स्थगन गरेर जाँचबुझ गरेको थियो । जाँचबुझ समितिले कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकले आवेदन फिर्ता लिन पाउने वा खारेज गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तै कुनै आवेदकले दिएको आवेदन थपघट गर्न समेत सक्ने व्यवस्था गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘घोराही सिमेन्ट इण्डष्ट्रीको सार्वजनिक निष्काशनका लागि सि-आस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ ।

आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिने प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु