स्वर्णिमको प्रश्न: सरकारले ४० दिनको राजस्व पनि प्रक्षेपण गर्न सकेन, १२ दिनमा चमत्कार हुँदैछ ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए ।

असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्यांक दिएको उनको भनाइ थियो ।

अर्थ मन्त्रालयले एक महिना अघिमात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै उनले अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए ।

नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै डा वाग्लेले अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताए ।

‘असार १८ गतेसम्म सरकारको राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ । ९ खर्ब उठेको छैन । अर्थ मन्त्रीले एक महिना अघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भन्नुभएको छ । आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजस्व संकलन ३ अर्ब जति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ’ उनले भने, ‘ सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो की ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ । त्यसमा जानकारी पायौं । असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ । सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो । ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला । सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनियतामा प्रश्न उठाउँ छ । अर्को १२ दिनमा के हुँदैछ । के आधारमा सरकारल लक्ष्य राख्यो ।’


क्लिकमान्डु