ललिता निवास प्रकरण: भाटभटेनीका मीनबहादुर सहितको मुद्दा भट्टराई र फुयाँलको इजलासमा


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहितले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ ।

उक्त रिटको पेसी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ।

इजलासमा निवेदक र सरकारी पक्षको बहसपछि सर्वोच्चले उनीहरुलाई धरौटीमा रिहा गर्ने कि नगर्नेबारे निर्णय सुनाउनेछ।

ललिता निवासको सरकारी जग्गा कीर्ते गरेको अभियोगत्रमा पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले असार १५ गते कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । यो विवादमा जोडिएका अन्य दुई थान निवेदनलाई साथै राख्न आदेश दिएको थियो ।

असार १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङसहित सात जनालाई पक्राउ गरेको थियो । यसरी पक्राउ परेकामध्ये तीन जना स्टे अर्डरको आधारमा छुटे पनि ४ जना भने हिरासतमा रहेका छन् ।

जिल्ला अदालत काठमाडौंले उनीहरुको हकमा सात दिन अनुसन्धानका लागि म्याद पनि थप गरेको थियो। एउटै अभियोगमा थुनामा बस्ने र रिहा हुने भएपछि उनीहरुले असार १३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमा आदेश गर्दै सर्वोच्चले २४ घन्टाभित्र कागज, प्रमाणसहित महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको थियो । आज उनीहरुको पक्षमा निर्णय नभए गुरुङसहितका प्रतिवादी हिरासतमा नै रहने छन् ।