जसरी बढ्यो उसैगरी घट्यो सेयर बजार, २ दिनमै ८९ अंकको गिरावट



काठमाडौं । सेयर बजार परिसूचक नेप्से जसरी उकालो लाग्यो उसैगरी ओरालो लागेको छ । अघिल्ला ४ कारोबार दिनमा १३५.५८ अंकले बढेको सेयर बजार पछिल्ला २ कारोबार दिनमा ८९.०७ अंकले घटेको हो ।

असार ७, १० ११ र १२ गते लगातार बढेर २०५०.७८ बाट २१८६.३६ अंकमा उक्लिएको परिसूचक आइतबार (असार १७) २०९७.२९ अंकमा झरेको हो ।

गत साताको अन्तिम कारोबार भएको दिन बुधबार ३५.३७ अंकले घटेको बजार आज ५३.३ अंकले घटेको छ । नेप्सेका सबै उपसूचक राताम्य बनेका छन् ।

लघुवित्त समूह सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक ३.४८, जलविद्युत ३.१५, बैंकिङ २.३८, वित्त २.०२, होटल तथा पर्यटन २.७२, उत्पादनमूलक २.२९, व्यापार २.२८ र अन्य समूहमा २.३७ प्रतिशतले गिरावट आएको छ ।

बाँकी समूह पनि घटेका छन् । समग्र बजार परिसूचक २.५ प्रतिशतले घटेको छ । बजार घट्दा पनि बीपीडब्लू  लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटलको मूल्य ४२ रुपैयाँ बढेर ४६२ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी मूल्य घट्नेमा सिर्जनशील लघुवित्त, माउन्टेन इनर्जी नेपाल, ग्रामीण विकास लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्तलगायत छन् । आज १८ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ । दिनभरमा कुल ५ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भयो ।


क्लिकमान्डु