क्रसर उद्योगले भोलिदेखि निर्माण सामग्रीको आपूर्ति ठप्प पार्ने



काठमाडौं । क्रसर उद्योगहरुले भोलि (शनिबार)देखि ढुंगा, गिट्टी र बालुवाको आपूर्ति नगर्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइ र आह्वानमा क्रसर उद्योगहरु आपूर्ति ठप्प पार्न लागेका हुन् ।

क्रसर उद्योग नवीकरणको माग राख्दै महासंघ आन्दोलित भएको हो । माघ ११ गते भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयनमा नभएको जनाउँदै महासंघले असार ३ गते आन्दोलनमा जाने निर्णय गरेको थियो ।

दुई साता समय दिँदा पनि बेवास्ता गरिएकाले क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्न लागिएको महासंघले जनाएको छ । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराइसकेको बताएका छन् ।

सरकारले पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योग असार मसान्तभित्र वैध भएर सञ्चालनमा आउनुपर्छ ।

गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म निर्णय कार्यान्वयन नभएपछि आन्दोलनको विकल्प नदेखिएको उनीहरुले बताएका छन् ।


क्लिकमान्डु