आर्थिक मुद्दालाई पहिलो प्राथमकितामा राख्न आग्रह देउवासँग सीएनआईको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्रका विषयमा देउवासँग छलफल गरेका हुन् ।
उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदै राजनीतिक दलहरुले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिए ।
सो अवसरमा कांग्रेस सभापति देउवाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।
उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।