धेरै आम्दानी गर्नेहरु करमा आइरहेका छैनन्, बजेटमा उनीहरुलाई दायरामा ल्याइएको छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेट संघीयता बिरोध पनि नभएको बताए ।

धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याए ।

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ थियो ।

‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौं । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै यो बजेटको लक्ष्य हो । हामीले करको यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौं । यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन । करको जुन हामीले व्यवस्था गरेका छौं । यसले चाँही जो धेरै आम्दानी गर्छ, उनीहरु करको दायरामा आईराख्या छैनन् । उनीहरुलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौ प्रोग्रेसिप हुनुपर्‍यो । तर भन्दा उनीहरुलाई बेखुशी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु’ उनले भने ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी गरे । राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरु बजेटमा उल्लेख गरिएको पनि उनले बताए ।


क्लिकमान्डु