ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक गुरुङले विचौलिया बनेर हत्याए ३० रोपनी जग्गा



काठमाडौं । बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले हत्याइएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पत्रकार सम्मेलन गरी पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको जानकारी गराएको हो ।

त्यसमध्ये  पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ एवं तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमले ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभिन्न भूमिकामा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले चारै जनालाई मंगलबार पक्राउ गरिसकेको छ ।

सात जनालाई पक्राउ गरेकोमा तीन जना हिजै साँझ छुटेका छन् । जग्गा हिनामिना प्रकरणमा नेतादेखि कर्मचारी र व्यापारीसम्म मुछिएका छन् ।

पूर्वनिर्वाचन आयुक्त शाहले भक्तपुर मालपोत कार्यालयमा अधिकृतका रूपमा रहँदा सुवर्णशमशेर जबरा र काञ्चनशमशेर जबराका हकवालाहरू सुनिती राणा, रक्मशमशेर जबरा, शैलजा राणा, हेमनशमेशर जबरा, हाटकशमशेर जबराका नाममा अनधिकृत रूपमा जग्गा नामसारी गरी श्रीमती उर्मिला शाहको नाममा ५ रोपनी २ पैसा २ दाम जग्गा प्राप्त गरेको देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले विचौलियाको भूमिका निर्वाह गरेको प्रहरीको अभियोगमा उल्लेख छ । अहिले गुरुङ र उनको परिवार तथा उनको सेयर रहेको भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिसमेतको नाममा २९ रोपनी १५ आना ३ पैसा १ दाम जग्गा कायम रहेको प्रहरीले बताएको छ ।

कर्मचारीहरु कार्की र गौतमले सरकारी जग्गा व्यक्तिको नाममा दाखिला खारेज गर्ने क्रममा मालपोत कार्यालय डिल्लीबजारबाट तयार पारिएको १०२४ र १०२५ नम्बरको मिसिल नै गायब पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


क्लिकमान्डु