निर्यातमा प्रोत्साहनको नीतिले सिमेन्ट उद्योगमा बहार, ११ महिनामा ६७ करोड ७६ लाखको निकासी
काठमाडौं । सरकारले निर्यातमा प्रोत्साहन नीति लिएपछि सिमेन्ट निर्यातमा भारी वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने तथा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरिएपछि उद्योगी उत्साहित बनेका हुन् ।
निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन र अर्घाखाँची ब्रान्डले भारतबाट गुणस्तर चिह्न लिएका छन् भने केही उद्योग लिने प्रक्रियामा छन् ।
चालू आर्थिक वर्षको ९ महिनामा ४२ करोड ३१ लाखको सिमेन्ट निर्यात भएकोमा त्यसयताका २ महिनामा मात्रै २५ करोडभन्दा बढीको निर्यात भइसकेको छ । आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट भारत निकासी भएको हो ।
साउनदेखि जेठसम्मका ११ महिनामा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर निकासी भएको भन्सार विभागले जनाएको छ । चालू आवको माघसम्ममा जम्मा १६ करोड ७० लाख रुपैयाँको सिमेन्ट निर्यात भएकोमा फागुनयताका ४ महिनामा थप ५१ करोडको निर्यात भएको हो ।
समीक्षा अवधिमा ३६ करोड ४० लाखबराबरको क्लिंकर र ३१ करोड ३६ लाख रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको छ । ११ महिनामा अवधिमा ३ लाख ८८ हजार २७७ टन क्लिंकर र ५ लाख ४ हजार ८४४ टन सिमेन्ट निर्यात भएको छ ।
आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट गत वर्षको असारदेखि नै भारत निर्यात हुन थालेको थियो । तानसेन सिमेन्ट निर्यात हुन थालेपछि सिमेन्ट उद्योगमा बेग्लै माहोल सिर्जना भएको छ ।
त्यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्ड र आरएमसी ब्रान्डकै सिमेन्ट भारत निर्यात हुँदै आएको थियो । तर, भारतबाटै क्लिंकर आयात गरेर उत्पादन गरेको सिमेन्ट निकासीबाट लाभ लिन नसकेपछि निर्यात प्राथमिकतामा पर्न सकेको थिएन ।
केही उद्योगले निर्यात गरे पनि निर्यातको हिस्सा निकै सानो थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो ।
नेपालमै क्लिंकर उत्पादन हुन थालेपछि लागत पनि कम पर्न थालेको छ । त्यसपछि असारमै तानसेनले निर्यात थाल्यो । गत वर्ष नै निर्यात परिमाण केही बढेको थियो । अघिल्लो वर्ष ८३ हजार रुपैयाँको सिमेन्ट निर्यात भएकोमा गत वर्ष १२ लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो ।
सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड टनभन्दा धेरै छ । पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम, सौर्यलगायतका सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।