प्राधिकरणको उपमहानिर्देशक बढुवा प्रकरणमा अख्तियारको चासो, लिखित जवाफ पेस गर्न निर्देशन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको १२ औं तहमा भएको बढुवा सिफारिसमा चासो राखेको छ ।

क्लिकमान्डुले गत चैत २७ गते ‘प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्यसपछि प्राधिकरणका कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी नियमावली-२०५६ को व्यवस्थाविपरीत पदपूर्ति समिति गठन गर्दै १२ औं तहमा बढुवा गरिएको भन्दै प्राधिकरणका एक कर्मचारीले अख्तियारमा उजुरी दिएका थिए ।

अख्तियारले सोमबार प्राधिकरणलाई पत्र लेख्दै गत चैतमा ११ तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्दा सिफारिस समिति कसरी गठन गरियो र समितिले बढुवा सिफारिस गर्दा लिएका आधार कारण के हुन् प्रष्ट हुने गरी जवाफ पेस गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी युरोप भ्रमणमा रहेकाले अख्तियारको पत्रको जवाफ दिइएको छैन ।

‘म नफर्किदासम्म अख्तियारबाट आएको पत्रको जवाफ नदिनु भन्ने निर्देशन महानिर्देशकले दिएका छन्,’ प्राधिकरणका एक अधिकारीले भने,‘त्यसले उहाँ फर्किएपछि मात्रै अख्तियारमा जवाफ दिने योजना छ ।’

गत चैत दोस्रो साता पुल दरबन्दीमा रहेका प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जनालाई उपमहानिर्देशकमा बढुवा गर्न सिफारिस गरिएको थियो ।

नियमावलीमा प्राधिकरणका महानिर्देशकको नेतृत्वमा पदपूर्ति समिति गठन गर्नुपर्ने प्रस्ट व्यवस्था छ । नियमावलीले प्राधिकरणको महानिर्देशकलाई उपमहानिर्देशकमा बढुवा गर्नुपर्ने परिकल्पना गरेको छैन ।

तर, सरकारले २०७८ माघ २० गते ११ औं तहका जुनियर अधिकृत प्रदीप अधिकारीलाई महानिर्देशक बनाएपछि प्रधिकरणको महानिर्देशकलाई नै उपमहानिर्देशक बढुवा गर्नुपर्ने अवस्था आयो, जसले गर्दा उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गर्न नियमावलीविपरीत पदपूर्ति समिति बनाइएको थियो ।

नियम ३.३ मा प्राधिकरणका महानिर्देशकको नेतृत्वमा लोक सेवा आयोगको राजपत्रांकित प्रथम श्रेणी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको राजपत्रांकित प्रथम श्रेणी, समितिले तोकेको पदपूर्ति सम्बन्धित मानव संशाधन विज्ञ र प्राधिकरणको प्रशासन विभाग प्रमुख सदस्य सचिव रहेको पदपूर्ति समिति गठन हुनुपर्ने व्यवस्था छ ।

तर, प्राधिकरणका महानिर्देशक अधिकारीको जोडबलमा प्राधिकरणको १२ तहमा बढुवाका लागि सिफारिस गर्न नियमावलीको व्यवस्थालाई कुल्चिँदै प्राधिकरणको ११ तहमा कार्यरत मुरारी भण्डारीको नेतृत्वमा पदपूर्ति समिति गठन गरिएको थियो ।

समितिमा लोक सेवा आयोगका तर्फबाट सहसचिव गीता हुमागाईं र पर्यटन मन्त्रालयका तर्फबाट सहसचिव राजेन्द्र केसी सदस्य थिए । आयोग र मन्त्रालयबाट भने नियमअनुसार नै सदस्य सिफारिस भएका थिए ।

उक्त समितिले महानिर्देशक अधिकारीसहित ११औं तहमा कार्यरत जगन्नाथ निरौला, नविना कर्माचार्य, टेकनाथ सिटौला, बाबुराम पौडेल र विनोद न्यौपानेलाई बढुवा गर्न सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा गत चैत १८ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको ११औं तहमा कार्यरत निरौला र कर्माचार्यलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको १२औं तह अर्थात् उपमहानिर्देशकमा बढुवा भएका निरौला र कर्माचार्य ११औं तहका वरिष्ठ कर्मचारी हुन् ।सञ्चालक समितिले वरिष्ठ कर्मचारीलाई नै बढुवा गरे पनि पदपूर्ति समिति नियमावली विपरित गठन गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।


शरद ओझा